धरानः धरान-१८ स्थित कार्मेल हाइस्कुलले ‘एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२’ का बिजेता छिरिङ तामाङलाई सम्मान गरेको छ ।
सोमबार स्कुल प्राङ्गणमा विद्यार्थीहरुका बीच उनलाई सम्मान गरेको हो । स्कुलकी प्रिन्सिपल सुभद्रा राईले उनलाई खदा र नगद ५ हजारले सम्मान गरेकी थिइन् । अभिभावक टेकबहादुर घिसिङ र पदमा तामाङलगायत विद्यार्थीको उपस्थितिमा उनलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै छिरिङले कार्मेलका विद्यार्थी, शिक्षकलगायत धरानबासीले भोट गरेर जिताएको भन्दै धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा उनले गीत सुनाएर विद्यार्थीलाई मनोरञ्जन साथै हौसला प्रदान गरेका थिए ।
यस्तै, प्रतियोगिताको सेमीफाइनलसम्म पुग्न सफल जोङसाङ गुरुङ, जेयुष राई र अल्वर्ट राईलाई समेत खदा र ११ सय नगदसहित सम्मान गरिएको थियो ।
डाइरेक्टर वीरबल शेर्पाले छिरिङले जित्दा गौरव महसुस भएको बताए । ‘जे होस् छिरिङले जितेर स्कुलको इज्जत मात्रै बढाएका छैनन्, गौरव समेत बढाएका छन्, यसले अन्य विद्यार्थीमा लुकेर रहेको थप प्रतिभा बाहिर प्रष्फुटित हुन्छ भन्ने समेत सन्देश गएको छ ।’
कार्यक्रममा बोल्दै आयोजक संस्थाका इभेन्ट म्यानेजर तिर्थ कार्कीले कार्मेल हाइस्कुलमा निकै राम्रा प्रतिभावान छात्रछात्रा रहेको बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितामा भाग लिइरहन सुझाए ।
कार्यक्रम नेपाली विभागका अध्यापक केशव न्यौपानेले सञ्चालन गरेका थिए । छिरिङले आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिले आयोजना गरेको प्रतियोगितामा उपाधिसँगै ५० हजार नगद र धरानको युएन, नवोदय कलेज वा काठमाडौंको काठमाडौं मोडल कलेजमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज













