Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको नगरसभाद्वारा बजेट सर्वसम्मत पारित

हाम्रो कोशी आवाज
असार २३ २०७९, बिहिबार
धरानको नगरसभाद्वारा बजेट सर्वसम्मत पारित

धरानः धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९–८० बजेट सर्वसम्मत पारित भएको छ ।
बिहीबार भएको ११ औं नगरसभाले सो बजेट पारित गरेको प्रवक्ता मनोज भट्टराईले जानकारी दिए । गत असार १० गते नै आगामी आर्थिक वर्ष (२०७९–०८०) का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम ल्याएको थियो । बजेट कार्यक्रममा खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद व्यवस्थापनलाई उपमहानगरले प्राथमिकतामा राखेको छ ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२, पुँजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८, वित्तीय व्यवस्थानतर्फ ३ करोड २५ लाख विनियोजन गरिएको थियो ।
आवको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाडबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दान परिवर्तबाट व्यवस्थापन हुने अनुमान गरिएको छ ।
नगरसभामा हानाथाप र बहिष्कार
नगरसभामा तीनवटा समिति (विधान, अर्थ तथा सार्वजनिक लेखा, न्यायिक समिति) चयन गरिएको छ । विधान समितिको संयोजकमा कृष्णबहादुर राई, सदस्यमा राजेन्द्र न्यौपाने, विजय राई, तारा तामाङ गोले र डे कुमारी विक रहेका छन् । यस्तै, अर्थ तथा सार्वजनिक लेखा समितिको संयोजकमा ब्रम्हज्ञ भट्टराई, सदस्यहरूमा झुमादेवी गुरुङ, पञ्चमी राई, राजेशराज मोक्तान र सम्सेर बर्देवा रहेका छन् । न्यायिक समितिमा झरना पौडेल मुखिया र चुन थापा चुनिएका छन् ।
न्यायिक समितिमा २ सदस्यको नाम सहमतीय प्रणालीमा सिफारिस गर्न भनिएको थियो । तर नेकपा एमालेका जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुको दम्भका कारण एकल तर बहुमतीय निर्णयले चयन भएको धरान–२ का वडाध्यक्ष विद्या शाक्यले जानकारी दिए ।
समितिमा समावेशी सहभागिता हुनुपर्ने भन्दै कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले पनिसदस्यको नाम सिफारिस गरेको तर त्यो हुन नसकेको उनले जानकारी दिए । उनका अनुसार सहमतीय प्रणालीमा समिति गठन हुन नसकेपछि नेकपा एमाले समूहबाहेक ४३ जना सदस्यहरू हलदेखि बाहिरिएका थिए । ४३ जना बाहिरिएपनि अन्ततः समितिले पूर्णता पाउन सफल भएको थियो ।
धरान–३ का वडा सदस्य नेकपा माओवादी केन्द्रका मिङमा भोटेले एमालेले दम्भ देखाएकोले आफूले पनि नाम फिर्ता लिएर हिँडेको बताए ।
‘यी समितिमा सबैलाई मिलाएर लानुपर्छ भनिएकै हो’, प्रवक्ता भट्टराईले भने, ‘तर एकलौटी जस्तो गरिएको पाइयो तर पनि लोकतान्त्रिक साथै बहुमतको विधि त मान्नैपरयो ।’

कार्यपालिका बैठकमा गरमागरम बहस
यसैबीच यसअघि कार्यपालिका बैठकमा समेत चर्काचर्की भएको थियो । नगर प्रमुख र उपप्रमुख कोषमार्फत विकास योजना सञ्चालन गर्ने विषयमा चर्काचर्की भएको थियो । दलबाट निर्वाचित कार्यपालिका सदस्यहरुले कोष किन भन्दै प्रश्न तेस्र्याएपछि चर्काचर्की भएको हो ।
प्रमुखको कोषमा १ करोड २० लाख र उप–प्रमुख कोषमा रु. ८० लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव भएको थियो । मेयर साम्पाङले यस विषयमा बोलेका थिए । उनले बजेट बन्ने क्रममा विषयगत समितिमार्फत नै विकाससँग सम्बन्धित योजना बन्ने तथा बनाउने कुरामा विमति भएको बताउँदै जनताबाट योजना माग हुने गरेको र कोषमा राखेको पैसाले धरानकै विकास गर्ने बताएका थिए ।
उपप्रमुख अइन्द्रविक्रम बेघाले विकासका योजना वडाबाटै तय हुने र बाँडेर आउने भन्दै प्रमुख र उपप्रमुख कोषमार्फत गर्न नहुने भन्ने नरहेको जिकिर गरेका थिए । ‘जनता विकास माग्न आए कुन कसरी कुन प्रावधानबाट गर्ने हो भन्ने द्विविधा हुनुहुँदैन । प्रमुख र उप–प्रमुखले योजनाहरूमा बजेट दिन पाउनु पर्छ कि पर्दैन ?’ उनले भने ।
कार्यक्रमका उपमहागरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संघीय सरकारले बनाएका स्थानीय सरकार सञ्चालन ऐन, नियममा प्रमुख र उपप्रमुख कोष खोल्नुहुन्छ अथवा हुँदैन नभनेको बताए । उनले स्रोतसाधन हुँदा र आवश्यकता महसुस भए निर्णय गर्न सकिने बताएका थिए ।
त्यसपछि कोष अलग अलग बनाउन नहुने विवाद भएपछि सङ्गोलमा ‘मेयर–उपमेयर कोष’ को प्रस्ताव गरिएपछि नगरसभामा लगेर सर्वसम्मतले पारित भएको थियो ।

प्रकाशित मिति: असार २३ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend