धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) अहिले धरान उपमहानगरपालिकामा सन्देश छरिरहेका छन् ।
धरानलाई लागूऔषध दुव्र्यसनमुक्त शहर बनाउन लागिपरेका छन् । प्रत्येक शुक्रबार सडकमा निस्किएर ‘दुव्र्यसनमुक्त धरान’ बनाऔं भन्ने घोषणा गरेका उनलाई धराने जनताले पनि साथ दिएका छन् ।
अघिल्लो शनिबार धरानको भानुचोकमा मेयर साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघासहितले ‘लागूपदार्थ दुव्र्यसनविरुद्ध एक होऔं’ भनेर सन्देश छरेका थिए । यो शनिबार धरानको छाताचोकमा यस्तो सन्देश छरियो ।
लागूऔषधको नशा गाढा, परिवार सबै हुन्छ टाढा, सचेत युवाहरुको आह्वान, दुव्र्यसनमुक्त धरान, लागूऔषध दुव्र्यसनमा नफसौं, नफसाउ, लागूपदार्थ दुव्र्यसनविरुद्ध एक होऔं, कति सुन्दर छ जीवन सोचेर हेर तिमी, कति गर्न सकिन्छ, रोजेर हेर तिमीलगायतको नारा लेखिएको प्लेटकार्ड बोकेर मेयर साम्पाङलाई स्थानीय साथै धनकुटाबाट समेत आइपुगेका युवाले समेत साथ दिएका थिए ।
‘लागूऔषध सेवन गर्नु भनेको आफु र आफ्ना सबैलाई धेरै भन्दा धेरै दुःखी बनाउनु हो, त्यसैले मिलेर सबैले भनौं लागूपदार्थ दुव्र्यसनविरुद्ध एक होऔं’, मेयर साम्पाङ भन्छन्, ‘यो अभियान चलाइरहन्छु, एकदिन यसलाई निमिटयान्न पारिछाड्छु भनेर लागिपर्छु ।’
उनले राज्यले अहिलेसम्म पक्राउमात्रै गरिरहने हो भने युवाको अवस्था पनि भयावह हुने बताए । उनले यसका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गर्ने पनि बताए । उनले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि कार्यदल गठन गरेर अघि बढ्ने समेत बताएका छन् ।
‘राज्यले अहिलेसम्म पक्राउ गर्ने राख्ने, अभिभावकले पनि सुधार केन्द्रमा पठाइरहने हो भने यसको समस्या समाधान हुँदैन’, उनले भने, ‘हरेक समस्याको एउटा जरा हुन्छ अर्थात् कारण हुन्छ, कारण के हो भन्ने पत्ता लगाउन जरुरी छ, त्यसको लागि कार्यदल गठन हुन्छ र त्यसले रिसर्च गरेर यसको समाधानको पाटो खोज्नेछौं, त्यसपछि स्रोत, साधन र अधिकार प्रयोग गर्दै निमिटयान्न गर्छौं भन्ने हो ।’ उनले यो अभियानमा युवा, अभिभावक, नगर प्रहरी, प्रहरी, अनुसन्धानका साथी, पत्रकारहरुलाई साथ दिन आग्रह समेत गरे ।
लागूऔषधविरुद्ध अभियान चलाइरहेका युरेका आवासीय माविका सहायक प्रिन्सिपल समेत रहेका सुदीप यल्मोले मेयर साम्पाङको अभियान अत्यन्तै राम्रो रहेको र धराने जनताले समेत साथ दिँदा खुशी लागेको बताए । ‘राम्रो साथ र समर्थनका साथ काम गरेको देखें’, उनले भने, ‘यसका लागि उपमहानगरपालिकाले थप मजबुत कार्यक्रम ल्याए धरानलाई दुव्र्यसनमुक्त बनाउन सक्छौं ।’
सन्देश छरिरहँदै
विभिन्न सन्देश छर्दै आएका उनले विभिन्न कार्यक्रम ल्याउँदै सचेतनामूलक सन्देश छरिरहेका छन् । यसअघि भानुचोकमा झाडु लिएर आउन आह्वान गर्दै आफू समेत झाडु लिएर फोहोर टिपेर एक किसिमको सन्देश छरेका उनले भानुचोक, भोटेपुललगायतका स्थानमा सरसफाइ गर्दै भानुचोकभरका गुट्खा, खैनी, पानीका बोतललगायत अन्य फोहोरजन्य वस्तु समेत टिपेका थिए । उनले भानुचोक छेऊछाउका पसल वरपरका सर्वसाधारण, सडकमा हिँड्ने सर्वसाधारण, सार्वजनिक यातायात व्यवसाय, सार्वजनिक बसका कर्मचारीलाई जताततै फोहोर नफाल्न आग्रह समेत गरेका थिए ।
उनले धरानलाई ‘क्लिन सिटी’ बनाऔं भन्ने सन्देश छर्न हिँडेको बताउँदै भनेका थिए, ‘अब धरान उपमहानगरपालिकामा फोहोर फाल्नेलाई कारवाही गरिनेछ ।’ यो नियम उनले अहिले लागू गर्न लागिपरेका छन् । केहीदिनअघि सम्पन्न कार्यपालिका बैठकले तीनकुनेदेखि छाताचोकसम्म कोही कसैले फोहोर फाले जरिवानासहितको कारवाही गर्ने निर्णय भएको छ । यी क्षेत्रमा जथाभावी फोहोर फालेको सूचना दिए पुरस्कृत समेत गरिने निर्णय भएको छ । फोहोर फाल्नेलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को परिच्छेद ७ मा भएको कसुर जरिवाना तथा क्षतिपूर्ति अनुसार कारबाही गर्ने निर्णय भएको छ ।
यस्तै, धरानमा जनता जाग्ने हो भने, एकजुट हुने हो भने विकास सम्भव छ भन्ने सन्देश छर्न पनि उनी लागिपरेका छन् । उनले जनताले चाहे भने नगरको विकास गर्न श्रमदान, नगद दान समेत जनताले खुशीका साथ गर्ने रहेछन् भन्ने कुराको उदाहरण पकुला खोलामा पुगेर पस्किरहेका छन् । जहाँ सयौं जनताले जनश्रमदान समेत गरिरहेका छन् । उनले धरान–२० स्थित पकुवा खोलाबाट पानी ल्याउने भनेर लागिपर्दा सयौं धराने जनताले साथ दिएको बताए । ‘त्यहाँबाट उपमहानगरपालिकाले पानी ल्याउने योजना बनाउने हो भने करिब ५० लाख खर्च हुनसक्थ्यो, तर अहिलेसम्म पकुवा खोलामा धराने जनतानै लागिपरेर सम्भव भएको हो ।’ उनी भन्छन् ।
यस्तै, धरानका विभिन्न स्थानमा वृक्षारोपण गर्दै उनी अघि बढिरहेका छन् ।
‘म जे जति निर्णय गर्छु, सन्देश छर्छु, धरानकै हितका लागि हो’, उनी भन्छन्, ‘यसको लागि धराने जनताको पनि साथ चाहिएको छ ।’
तस्वीरहरुः लक्ष्मण थापा, हाम्रो कोशी आवाज












