धरानः धरानमा भएको प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट-१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को उपाधि बिजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
धरान-१६ स्थित युएन कलेजको हलमा आयोजित कार्यक्रममा उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो । धरान-१८ स्थित कार्मेल हाइस्कुलबाट एसइई दिएका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले उपाधि जितेका थिए । नृत्यतर्फ धरान–१० स्थित युएन स्कुलकी नियति राना मगर फस्ट रनरअप र धरान–१२ स्थित सुनाखरी एकेडेमीकी प्रकृति खापुङ सेकेण्ड रनरअप बनेका थिए । यस्तै, गायनतर्फ धरान-१६ स्थित जेनिथ स्कुलका रिजन लोहनी फस्ट रनरअप र धरान-१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलकी गनु राई सेकेण्ड रनरअप बनेका थिए ।
छिरिङ र नुमाले ५० हजार रुपैयाँको चेक पाएका छन् । यस्तै, फस्ट रनरअप बनेकाहरुले ३० हजार रुपैयाँ नगद, र तेश्रो हुनेले २० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । उनीहरुलाई आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापो, कार्यक्रम निर्देशक राम लिम्बू, सिजी फुडस नेपाल (वाइवाइ) का धरान प्रतिनिधि लिलानाथ ढुङ्गाना, संगीत संयोजक विनायक राई, मार्केटिङ अफिसर जगत नेम्वाङलगायतले उनीहरुलाई चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको सञ्चालक आरजे, सञ्चारकर्मी तथा मोडल मेरिना तुम्साले गरेकी थिइन् । कार्यक्रममा गणपति फेक्सका सञ्चालक भरत श्रेष्ठ, होटल पूर्वी स्टार, स्वयंसेवक, मिडिया पार्टनरलगायतलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
यसअघि धरान–१५ स्थित चुम्लुङ हीममा आयोजित कार्यक्रम प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख आतिथ्यतामा सम्पन्न थियो ।
एफटिएल अनलाइन टिभीले आयोजना गरेको प्रदेश नम्बर १ भरीबाट फाइनलमा१०–१० जना छनौट भएका थिए । प्रतियोगितामा गायिक मिलन अमात्य, गायक विकास तुम्बापोलगायतको उपस्थिति थियो । प्रतियोगिताका निर्णायकमा गायनतर्फ भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू र विनायक राई थिए भने नृत्यतर्फ छमछमी सिजन–३ कि फस्ट रनरअप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्वाहाम्फे रहेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज
































