धरान: वातावरण संरक्षण र बढ्दो इन्धन खपतलाई न्यूनीकरण गर्ने उद्देश्यले प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जाइण्ट बाइक धरानबीच दैनिकरुपमा साइकलको प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको छ ।
धरानका मेयर हर्क राई साम्पाङको उपस्थितिमा भएको सो सम्झौतामा प्राइम भिजन कलेजका तर्फबाट कलेजका सीइओ अभिषेक श्रेष्ठ र जाइण्ट बाइकका तर्फबाट धरान डिलर कृष्ण केसीले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।
सम्झौताबारे जानकारी दिँदै कलेजका निर्देशक अनिल श्रेष्ठले सम्झौताअनुसार प्राइम भिजनमा अध्यनरत विद्यार्थीलाई साइकल खरिद र प्रयोगमा प्रोत्साहनस्वरुप कलेज र जाइण्ट बाइकको तर्फबाट नगद छुट र वार्षिक रुपमा मर्मतहरुमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराए ।
सम्झौतामा हस्ताक्षर गरिसकेपछि कलेजका सीइओ श्रेष्ठ र जाइण्ट बाइकका धरान डिलर केसीले संयुक्तरुपमा यो अभियानले विद्यार्थीहरुलाई स्वास्थ्य र वातावरणलाई सुन्दर बनाउन सहयोग गर्ने जानकारी गराए । साथै विद्यार्थीलाई यो अभियानमा साथ दिन र साइकल प्रयोग गर्न समेत आग्रह गरे ।

मेयर साम्पाङले आह्वान गरेको ५ हजार वृक्षारोपण अभियानअन्तर्गत शनिबार धरान–१४ स्थित विजयपुर पन्चकन्या मन्दिर परिसरमा भएको वृक्षारोपण कार्यक्रममा प्राइम भिजनका विद्यार्थी तथा शिक्षकहरु र अन्य धराने जनताको उपस्थितिमा कलेजद्वारा २ थान फोहोर फाल्ने डसविन मेयर साम्पाङलाई समेत हस्तान्तरण गरिएको कलेजका निर्देशक श्रेष्ठले जानकारी दिए ।
गत बैशाखमा धरानमा सम्पन्न इष्ट टुरिजम मार्टको बेला विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरी उठाएको रकमबाट धरानको वातावरणलाई संरक्षण गर्न टेवा पुगोस् भन्ने हेतुले फोहोर फाल्ने डस्विन खरिद गरी मेयर साम्पाङलाई हस्तान्तरण गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए । सो डस्विन पञ्चकन्या मन्दिर र बुढासुब्बा मन्दिर परिसरमा राख्नलाई मेयर साम्पाङले अनुरोध गरेको समेत उनले बताए ।