Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा उपाधि जितेको रकमले असहायलाई सहयोग

हाम्रो कोशी आवाज
असार २७ २०७९, सोमबार
धरानमा उपाधि जितेको रकमले असहायलाई सहयोग

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा प्रकृति खापुङले पुरस्कार रकमले असहायलाई सहयोग गरेकी छिन् ।
धरान छाताचोकमा रहेको अपाङ्ग पुनस्थापना केन्द्रमा पुगेर उनले सहयोग गरेकी हुन् । उनले भर्खरै धरानमा सम्पन्न भएको एसइई स्टेट १ डान्सिङ स्टार प्रतियोगितामा भाग लिएर सेकेण्ड रनरअप बनेकी थिइन् । उनले यो उपाधिसँगै १५ हजार नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति पाएकी थिइन् । पुरस्कार पाएको रकममा केही थप गरेर करिब १७ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरिएको उनले जानकारी दिइन् । उनका अनुसार भाइ प्रतिक खापुङको जन्मदिनमा संकलित रकमले पनि त्यहाँ सहयोग गरिएको हो ।
स्कुलका प्रिन्सिपल मिलनकुमार राईले प्रकृतिले सहयोगको भावना देखाउनु नै ठूलो कुरा भएको बताए । ‘यो कार्यक्रम नै महत्वपूर्ण हो, यो आधुनिक जमानामा कक्षा–१० मा पढेकी छात्राले सहयोग गर्छु भन्नु नै ठूलो कुरा हो, सुनाखरी एकेडेमीका बाल क्लब, स्काउटले यसअघि पनि समय समयमा यहाँ आएर सहयोग गर्दै आएको छ । यसले के देखाउँछ भने विद्यार्थी पनि सामाजिक रुपमा उत्तरदायित्व बहन गर्दै अघि बढिरहेका छन् ।’
उनले सुनाखरी एकेडेमीले पढाइ, अतिरिक्त क्रियाकलापका साथै सामाजिक उत्तरदायित्वबारे पनि जोड दिने गरेको बताउँदै भने, ‘विद्यार्थीलाई समाजमा जोडिनुपर्छ, समाजमा बसेर दिनदुःखीहरुको सेवा गर्नुपर्छ भन्ने भावनाको विकास गराउने र संस्कार पनि दिने गरेका छौं ।’
सहयोग गर्न पाएकोमा अत्यन्तै गर्वको महसुस भएको प्रकृतिले प्रतिक्रिया दिइन् । उनले यसअघि पनि सुनाखरीको क्लबमा आवद्ध हुँदा सहयोग गर्दै आएको बताइन् । ‘यसअघि बाल क्लबमा आवद्ध थिएँ’, उनले भनिन्, ‘त्यतिबेला पनि सहयोग गरेकी हुँ, स्कुलका प्रिन्सिपल, शिक्षकहरुले पनि दिनदुःखीहरुको सेवा गर्नुपर्छ भनेर उक्साइरहनुहुन्थ्यो, त्यसकै परिणाम हो यो ।’
संस्थाका अध्यक्ष भीम राईले स्कुल र अभिभावकले समेत प्रकृतिलाई सही संस्कार सिकाएको भन्दै तारिफ गरेका थिए । उनले त्यहाँ दाल, चामल, बिस्कुट, चिउरा, चिनी, नुन, तरकारी मसला, प्याजलगायतका सामग्री हस्तान्तरण गरेकी थिइन् ।
यसैबीच युकेमा बस्दै आएका दिल्ली राईले पनि सोही स्थानमा जन्मदिन मनाएका छन् । उनकी भतिजी भावना राईले त्यहाँ सहयोग गरेकी थिइन् । यस्तै, हङकङमा रहेकी रुस्ना राईले साथी डिल्लीको जन्मदिनमा खाद्यान्न समेत सहयोग गरेकी थिइन् ।

 

प्रकाशित मिति: असार २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend