धरानः एसइई स्पिकरका उत्कृष्ट १० जना सहभागीहरुलाई आइतबार सार्वजनिक भाषणकलासम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ ।
रयाडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको प्रतियोगीताका सहभागीहरुलाई महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एवम् जनगायक किशोर थुलुङले अभिमुखीकरणको सहजीकरण गरेका थिए ।
विद्यार्थीहरुलाई आत्मविश्वास कसरी बढाउने, भाषणको तयारी कसरी गर्ने भन्नेबारेमा ज्ञान दिइएको थुलुङले बताए । त्यस्तै प्रभावकारी भाषण गर्दा विशेष गरेर चार वटा ‘पि’ मा ध्यान दिनुपर्ने थुलुङले बताए । भाषण गर्दा पिच (आवाजको तह), पज (आवश्यक ठाउँमा रोकिनु), प्रोननसियसन (उच्चारण) र प्रेसेन्टेसन (प्रस्तुतिकरण) मा विशेष ध्यान दिन विद्यार्थीहरुलाई थुलुङले सुझाए ।
अभिमुखीकरण कार्यक्रम युएन नवोदय कलेजको सेमिनार हलमा भएको थियो । प्रतियोगिताको फाइनल आगामी असार–२९ गते बुधबार हुने प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।