धरानः सोमबार धरान उपमहानगरपालिका परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको थियो । त्यतिबेला धरान–१६ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले गुनासो पोखेका थिए– स्कुल लथालिङ्ग र भताभुङ्ग अवस्थामा चलिरहेको छ, धरान उपमहानगरपालिकाले अहिलेसम्म एक पैसा पनि सहयोग गरेको छैन, एकपल्ट आइदिनुपरयो ।
प्रधानाध्यापक पराजुलीले त्यति भनेपछि मेयर हर्कराज राई (साम्पाङ) ले भनेका थिए– भोलि बिहान ठीक ७ बजे उपमेयरसहित म अनुगमनका लागि आउँछु । नभन्दै उनी मङ्गलबार ७ बजे उपमेयर अइन्द्रविक्रम बेघासहित नै स्कुल परिसर पुगेर निरीक्षण गरेका छन् । उनले स्कुलको भवन, स्कुल परिसरमा रहेको खेल मैदान आदिको निरीक्षण गरेर फर्किएका छन् ।
स्कुल लथालिङ्ग र खेल मैदान झनै भताभुङ्ग
प्रधानाध्यापक पराजुलीले स्कुल लथालिङ्ग रहेको बताए । उनका अनुसार टिनको छानाबाट बनेको भवनमा वर्षातको समयमा पानी चुहिएर कक्षाकोठा आहाल र विद्यार्थीको बेहाल हुने गरेको गुनासो पोखे । यस्तै, विद्यालय परिसरमा रहेको करिब पाँच कट्ठा जमीन रहेको खेल मैदानमा स्थानीयले फोहोर फाल्ने साथै गौचरणमा परिणत छ ।

सो स्थानको फिल्डमा रहेको माटो पनि खोल्सीले तान्दै लगेको, दुई अढाइ कट्टा जग्गा खोल्सीमा परिणत भएको, लागूऔषध सेवन गर्ने थलो बनेको र यहाँ युवापुस्ता आएर झगडा गर्ने गरेको प्रधानाध्यापक पराजुलीले जानकारी दिए । उनले स्कुल लागिरहेको समयमा खेलाडीहरु आइदिने, फुटबल, भलिबल, क्रिकेट जस्ता खेल खेल्ने, होहल्ला गर्ने, कक्षा चलिरहेको बेला बल कक्षाकोठामै आइपुग्ने, विद्यार्थीको टाउकोमा लाग्ने गरेको गुनासो पोखेका थिए । ‘हामीले एकपटक एक झोला सुई, टयाब्लेटलगायतका सामग्री भेटेर प्रहरीलाई बुझाएका पनि छौं’, प्रअ पराजुली भन्छन्, ‘अब सधैं यसरी यो स्कुल चल्नु भएन ।’
उनले धरान उपमहानगरपालिकाले अहिलेसम्म एक पैसा पनि सहयोग नपाएको गुनासो पोखे । उनले सहयोग नपाउँदा खेल मैदान लथालिङ्ग र भताभुङ्ग बनेको बताए । उनले उपमहानगरपालिबाट सहयोग पाए खेल मैदान व्यवस्थित बनाउने र स्कुललाई नमूना बनाउन लागिपर्ने समेत बताए ।
‘हामीले उपमहानगरपालिकासँग पटक पटक आर्थिक सहयोग नमागेको होइन तर अहिलेसम्म एक पैसा पनि सहयोग पाइएको छैन’, उनले भने, ‘सहयोग नपाउँदा खेल मैदान र विद्यालय नै लथालिङ्ग अवस्थामा छ ।’
मेयर साम्पाङले ज्ञापनपत्र बुझ्दै विद्यालयको क्षेत्रलाई कम्पाउण्डवाल लगाइने र पानी चुहिने समस्यालाई मर्मत सम्भारमा ध्यान दिइने बताए । उनले उनले खेल मैदान क्षेत्रलाई व्यवस्थित खेल मैदान बनाइने बताए । उनले त्यस क्षेत्रमा ‘स्पोटस एकेडेमी’ बनाइने समेत बताए ।