धरानः धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा यही असार ५ गतेदेखि शुरु भएको सातौं ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प २४ औं दिनमा मङ्गलबार समापन भएको छ ।
ट्रेनिङ क्याम्पका प्रशिक्षक तथा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरी ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको थियो । उनीहरुलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी र धरान उपमहानगरपालिका कार्यपालिका सदस्य अनुप देवानले प्रमाणपत्र वितरण गरेका थिए ।
बास्केटबल खेल विकास तथा प्रतिभावान खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत एक दशकभन्दा बढीदेखि बास्केटबल संघले बास्केटबल ट्यालेन्ट हन्टको आयोजना गर्दै आइरहेको छ । एसइई दिएर बसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित ट्रेनिङ क्याम्पमा १० कक्षामुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर लेवलका गरी ५० जना भन्दा बढीले सहभागिता जनाएका थिए ।
एसइई दिएका विद्यार्थी मध्येबाट प्रतिभावान खेलाडीहरुलाई धरानको विभिन्न कलेजमा कक्षा–११ मा छात्रवृत्तिका लागि बास्केटवल संघले सिफारिस गर्ने गरेको छ । योपटक करिब डेढ दर्जन विद्यार्थी खेलाडीहरुलाई धरानको धरान मेघा कलेज, एम्स एकेडेमि, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडी कलेजमा छात्रवृत्तिको लागि सिफारिस गरिने समापन कार्यक्रमका सभाध्यक्ष नारायण सुवेदीले बताए ।

संघको सिफारिसमा विगत लामो समयदेखि विद्यार्थी खेलाडीहरुलाई प्रोत्साहन गर्दै धरानका विभिन्न कलेजमा सयभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्तिमा सिफारिस गरी अध्यपन गराइरहेको आयोजक धरान बास्केटबल संघले समापन कार्यक्रममा जानकारी गराए ।
धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भइरहेको क्याम्पमा सहभागीहरुलाई प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, उनको सहयोगीको रुपमा हेमत्त राई, डा. आशा राई, रोशन राई, युगल लिम्बू र दिवस राईले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा सुनसरी फुटबल संघका अध्यक्ष नविन राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, एम्स एकेडेमीका प्राचार्य मित्र तामाङ, सगरमाथा एसडी कलेजका प्राचार्य सन्तोष राईलगायतको उपस्थिति रहेको थियो । उनीहरुले आयोजकलाई सफलतापूर्वक तालिम सम्पन्नका लागि बधाई तथा सहभागी विद्यार्थी खेलाडीहरुलाई एसइई परीक्षामा राम्रो नतिजाका लागि शुभकामना व्यक्त गरेका छन् । साथै आफ्नो विद्यालयको तर्फबाट ट्यालेन्ट हन्टका विद्यार्थी भाइबहिनीहरुलाई प्रोत्साहनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
