Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पकुवामै पुग्ने वृद्धाको धोको !

हाम्रो कोशी आवाज
असार २८ २०७९, मंगलबार
धरानको पकुवामै पुग्ने वृद्धाको धोको !

धरानः मङ्गलबारको उखरमाउलो गर्मी । जक्सनः सर्दुको बगर । सर्दुको बगरमा लामबद्ध भएर धरानबासी खटिरहेका छन्, जनश्रमदान गरिरहेका छन् । भनौं, पकुवाको पानी सर्दुखोला कटाउन बाँकी छ । पाइप अझै सर्दुखोला कटाउन सकिएको छैन । कारण हो– सर्दुखोला ।
त्यहाँबाट पाइप कटाउन अझै धरानबासीले हुर्मत गरिरहेका छन् । त्यहाँ फलामको टेको लगाएर पाइप तार्न विगत चारदिनदेखि श्रमदान गरिरहेका छन् । फलामको टेको लगाउन बगरमा गहिरो खाडल खन्ने, खाडल खनेपछि त्यसलाई पुर्ने, पुरेर मात्रै भएन सिमेन्टेड गर्ने समेत काम भइरहेको छ ।
धराने जनताले पसिना बगाएर जनश्रमदान गरिरहेको ठाउँ सर्दु बगरमा एकजना वृद्धा पनि हस्याङफस्याङ, उफ गर्दै देखा परिन् । उनले केहीबेर गिटी पनि कुटिन् । ७२ वर्ष पुगेकी धरान–११ की पार्वती राई निकैबेर मिडियाकर्मीसँग गफिइन् अनि सबैलाई धन्यवाद दिएर फर्किइन् ।
खासमा उनले मेयर हर्कराज राई साम्पाङले पकुवा खोलाबाट पानी ल्याउने आह्वान गर्नेवित्तिकै निकै चासोसाथ हेरिरहेकी थिइन् । उनलाई पनि पकुवा पुग्ने धोको रहेछ । भनिन्, ‘मैले निकै चासोका साथ हेरिरहेको थिएँ हेर्नकै लागि भएपनि पकुवा जाने मन थियो तर खुट्टा दुख्ने कारण त्यहाँ पुग्ने धोको पूरा हुन सकेन, बुहारीलाई श्रमदानका लागि पठाएँ ।’
उनी पानी आइपुग्यो भन्ने सुनेर सर्दुबगरसम्म भएपनि पुगौं भनेर बुहारीहरुसँग त्यहाँ आइपुगेको बताइन् । ‘हिजै पानी आइपुग्यो भन्ने सुनें, आज सबैलाई धन्यवाद दिन लाङराङलुङरुङ गर्दै जस्तै खुट्टा दुखेपनि दुखोस् भन्दै बुहारीहरुसँग झरें’, उनले भनिन्, ‘पानी हेर्न र जनताको श्रमदान हेर्नका लागि भएपनि आइपुगें ।’
युटयुबमा भिडियो हेर्नेमध्ये उनी पनि अछुतो छैनन् । सयौं धराने जनता जागेको, जनताले श्रमदान गर्दै पकुवा खोलामा पानी टयाङकी खनेको, मेयरले बेल्चा हानेको, गिटी कुटेको, जनता र मेयरले पाइप बिछ्याएकोदेखि सर्दुखोलामा पानी झारेको समेत देखेकी छिन् ।
उनलाई मेयर साम्पाङले गिटी कुटेको, ढुंगा बोकेको देखेर खिसिट्युरी गरेको पनि थाहा पाएको तर खिसिटयुरी गरेको भने मन परेको छैन । ‘अर्काले खिसी गरयो भनेर म मान्छु, हामी नेपाली भएर जे पनि गर्नुपर्छ, के पहिला हामी जन्मिदै सौखमा जन्मिएको हो र ? दुःख नै सुख हो, पहिला दुःख गर्नुपरयो अनि सुख हुन्छ,’ उनले भनिन्, ‘गिटी, वालुवा, ढुंगा नबोकी हुन्छ त, अब गिटी, कुटेको, ढुंगा बोकेको भनेर खिसिटयुरी गर्न छोड्नुहोस् ।’
उनले पाँच वर्षमा धरानको मुहार फेरिनेमा आफू विश्वस्त रहेको समेत बताइन् । ‘अहिले खानेहरु (लागूऔषध) लाई पनि ठीक गर्दै गरेको देखें, भत्ता र तलबबाहेक केही खान्न भनेको पनि होअब कसो धरानको मुहार नफेरिएला ।’
उनले धरानमा अहिलेको मेयरले केही गर्ने देखेकी छिन् । उनले मेयर हर्कलाई महाभारतको अर्जुन भएको संज्ञा दिइन् । ‘एक्लै गल्लीमा हिँड्ने र यसअघि नाथे साढे चार सय मत ल्याउनेले के जित्ला भन्थे तर जिताएरै छाड्यौं, म त हर्कलाई भारतको अर्जुन भन्छु । मैले बुझेअनुसार बालेनको जति चर्चा छ, त्यो भन्दा बढी हर्कको चर्चा छ,’ उनले भनिन्, ‘सप्तकोशीसम्म पुगेर पानी ल्याउँछु भनेकै छ, पाँच वर्षमा कसो नल्याउला त ?’
उनले अन्त्यमा मिडियाकर्मीमाझ भनिन्– धरानको विकास हुन्छ, भावी पुस्तालाई राम्रो हुने भो, स्वर्ग भयो । यस्तो गर्ने भाइलाई धेरै सहारा दिनुपर्छ, म त के आज छु कि भोलि छु, मेरो भाइलाई बीचमा नछाडिदिनुहोला, यस्तै साथ दिँदै जानुहोला, हाम्रो धरान बनिन्छ, तपाईहरुको लागि स्वर्ग भएन त ? अहिलेका पुस्तालाई राम्रो हुन्छ ।
अहिले पनि सर्दुखोलामै जनश्रमदान भइरहेको छ । प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूका अनुसार मङ्गलबार सर्दुखोलाको सबै काम सकिने र भोलिदेखि सर्दुखोलाबाट पाइप तार्ने काम सकिने बताए ।

प्रकाशित मिति: असार २८ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend