धरानः धरानमा मेयर हर्क साम्पाङको ‘अफर’ मा कविता जनचेतनामूलक कविताहरू सुनाइएको छ ।
मेयर हर्कराज राई (साम्पाङ) ले धरान–१३ स्थित जिरोप्वाइन्टमा लागूऔषधविरुद्धका जनचेतनामूलक गीत, कविताहरु लिएर आउन आफ्नो फेसबुक पेजमार्फत् धरानबासीलाई आह्वान गरेपछि कविता सुनाउन त्यहाँ पुगेका थिए । कार्यक्रममा सञ्चारकर्मी तिर्थ कार्की, भवानी चुँडाल, स्थानीय जीवन क्षत्री, सुनसरी टेक्निकल कलेजमा अध्ययनरत नेशनल निरौलालगायतले कविता सुनाएका थिए ।
यस भन्दा अघिका अभियानहरूमा पर्चा पाम्प्लेट बोकेर उभिने मात्रै गरिँदै आएकोमा जीरोप्वाईन्टमा भने लागुऔषध विरुद्धका जनचेतनामूलक कविताहरू पनि गुन्जिएका थिए ।
मेयर साम्पाङसहित उपमेयर अइन्द्रविक्रम बेघा पनि त्यहाँ पुगेका थिए । उनीहरुले त्यहाँ पुगेर जनचेतना फैलाएर फर्किएका छन् । धरानबासी र मेयर, उपमेयर नै जिरोप्वाइन्टमा प्लेकार्ड बोकेर करिब आधाघण्टा उभिएका थिए ।
प्रत्येक शुक्रबार ५ बजे लागूऔषधविरुद्धको जनचेतनामा निस्किरहने घोषणा गरेका मेयर साम्पाङले अर्को हप्ता धरान–१४ मा यो अभियान सञ्चालन गर्ने जानकारी दिए । उनले यो अभियान अहिले तेस्रो हप्तासम्म सञ्चालन भइरहेको र आगामी दिनमा चोकचोकमा पुगेर निरन्तरता दिइरहने बताए ।
‘धरानलाई लागूऔषधमुक्त बनाउन मेरो भूमिका रहिरहन्छ’, उनले भने, ‘चोकचोकमा पुगेर हुन्छ कि धरान उपमहानगरपालिकाले नीति नियम बनाएर हुन्छ, लागूऔषध न्युनीकरणमा लागिरहन्छु ।’







