धरानः एसइई स्पिकर–२०७९, सिजन–२ का बिजेताहरुलाई शुक्रबार पुरस्कार वितरण तथा छात्रवृत्ति प्रदान गरिएको छ ।
रयाडिकल लाइट नेपाल प्रालिले असार–२९ गते सम्पन्न गरेको प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको हो । धरान–१३ को वडा कार्यालय परिसरमा रहेको वडा बाल सञ्जालको हलमा बिजेता एङ्लीसा थापा, फष्ट रनरअप प्रतिष्ठा श्रेष्ठ, सेकेण्ड रनर अप सिसम गुरुङ र सान्त्वना दिमन गिरीलाई क्रमश, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै, बिजेता एङ्लीसालाई युएन नवोदय कलेजमा पूर्ण छात्रबृत्ति प्रदान गरिएको छ । फष्ट रनरअप प्रतिष्ठालाई एम्स एकेडेमिमा ५० प्रतिशत छात्रवृत्ति, सेकेन्ड रनरअप सिसम गुरुङलाई सियोन स्कुलमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।
यसैगरी सान्त्वना स्थान हासिल गर्ने दिमन गिरीलाई सुनाखरी एकेडेमीमा ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । बिजेताहरुलाई प्रमुख अतिथि धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले र निर्णायक विजय आछामीले छात्रवृत्ति तथा पुरस्कार वितरण गरेका थिए ।
गत बुधबार प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा हिमालयन बोर्डिङ चतराकि एङ्लीसा ‘सामाजिक सञ्जाल र युवापुस्ता’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्दै विजेता बनेकी थिइन् । यस्तै, विष्णु मेमोरियल बोर्डिङ धरानकी प्रतिष्ठाले ‘कृषि क्षेत्रको विकासमा युवाको भूमिका’ शीर्षकमा आफ्नो विचार राखेर फष्ट रनरअप बनेकी थिइन् ।
हिविस्कस इङ्लीस बोर्डिङ स्कुलकी सिसमले ‘जङ्कफुडको प्रयोग न्युनीकरणमा विद्यार्थीको भूमिका’ शीर्षकमा आफ्नो विचार राखेर सेकेण्ड रनरअप बनिन् । त्यस्तै, भरोल बाल मन्दिर बोर्डिङका दिमनले ‘महिला हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका’ शीर्षकमा आफ्नो विचार राखेका थिए ।
सब टाइटलतर्फ वेस्ट पर्फमेन्सको उपाधि कोशी बोर्डिङ धरानका अवेक श्रेष्ठले हात पारे भने बेष्ट डिसिप्लिनको उपाधि जनसहयोग मावि तरहराकी एल्जिना खातीले हात पारिन् । त्यस्तै, मस्ट सिन्सियरको उपाधि आदर्श मावि चतराकी प्रज्ञा न्यौपानेले जितिन् भने मस्ट पन्चुअलको उपाधि शिक्षा सन्देश बोर्डिङ पानमाराका रज्निस न्यौपानेले जिते ।
यसैगरी मस्ट ट्यालेन्टको उपाधि कोशी बोर्डिङकी एशिका कार्कीले हात पारिन् भने मस्ट एक्टिभको उपाधि हिमालयन बोर्डिङ चतराकी रबिना तामाङले हात पारिन् । बिजेता, फष्ट रनअप, सेकेण्ड रनरअप र सान्त्वना हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित धरानका विभिन्न कलेजमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रमुख अतिथि धरान उप–महानगरपालिकाका उपमेयर अइन्द्र बेघा, पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा, युएन कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका असइ नारदप्रसाद दाहाल, जनता आधारभूत विद्यालयकी प्रअ रित्ता पोख्रेल, अमर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष भूमि लिम्बु, ज्वाइँ खानाका सञ्चालक हरि श्रेष्ठ, मिस स्टेट–१ सिजन–३ कि बिजेता स्वेता भुजेल लगायतले पुरस्कार र प्रमाण–पत्र वितरण गरेका थिए । विद्यार्थीहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्दै राष्ट्रको सुयोग्य नागरिक बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।
कार्यक्रममा शिक्षा निकेतन माविका प्लस टु कोअर्डिनेटर आशिष मास्केलाई विगत लामो समयदेखि विद्यार्थीहरुको ब्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि आयोजना गरिएका विभिन्न कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुरयाएको भन्दै सम्मान गरिएको थियो ।
