धरानः धरानमा गोली चलेको छ । धरान-२० विष्णुपादुका जाने बाटोमा गोली चलेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति ८ बजेतिर मोटरसाइकलमा हिँडिरहेका एक व्यक्तिमाथि गोली चलाइएको र मोटरसाइकलको ट्याङ्की लागेर गोली हराएको छ ।
‘मोटरसाइकलमा गोली लागेर मोटरसाइकलको ट्याङ्कीमा सानो दुलो समेत परेको पाइएको छ, अनुसन्धान भइरहेको छ’, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर गजेन्द्र रायामझीले भने ।
सर्दु खोलाको पुलदेखि केहीमाथि धरान–२० भालुढुंगा बस्ने यहासु राई चढेको मोटरसाइकलमा गोली लागेको उनले जानकारी दिए । काम विशेषले धरान बजार आएका राई घर फर्किँदै गर्दा गोली चलेको प्रहरीले जनाएको छ ।
अपरिचित व्यक्तिले गोली प्रहार गरेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोलीले अनुसन्धान थालिसकेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
धरान उपमहानगरपालिकाको गरिबी निवारणको गणककोरुपमा कार्यरत उनीमाथि कसले र किन गोली चलाएको हो भन्नेबारेमा अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ । ‘अहिले पनि हामी घटनास्थलमै छौं’, इन्स्पेक्टर रायमाझीले भने, ‘मोटरसाइकलमा दुलो पर्ने गरेर गोली लागेको पाइएको छ तर गोली भेटिएको छैन ।’ उनले भने । सडकमा मोटरसाइकल चलाइरहँदा सडक किनारमा उभिएका एक व्यक्तिले आफूलाई पेस्तोलजस्तो वस्तुले ताकिरहेको देखेपछि आफू भागेको र भाग्ने क्रममा बन्दुक पडकेको आवाज आएको राईले बताए । ‘तीब्र गतिमा मोटरसाइकल नहुँक्याएको भए के हुन्थ्यो थाहा भएन’, राईले भने ।