धरानः विदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेमाथि धरानका युवाहरुले खबरदारी अभियान शुरुवात गरेका छन् ।
धरानको भानुचोकमा बसेर शनिबारदेखि यस्तो अभियान थालिएको हो । अब हरेक सार्वजनिक विदाको दिन यसरी नै खबरदारी गरिने नेपाल बसोबास वस्ती वस्ती संरक्षणका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।
शनिबार मन्त्रीदेखि सिडिओसम्मको गाडी रोकिएको उनले जानकारी दिए । उनले सरकारी कर्मचारीदेखि मन्त्रीसम्मलाई पनि सार्वजनिक विदाको दिन सरकारी गाडी लिएर हिँडडुल गर्न कडाइ गरेको बताए ।
शनिबार धनकुटा जाँदै गरेकी भूमि, व्यवस्थामन्त्री शशी श्रेष्ठको मे१झ१४३ नम्बरको सरकारी गाडी रोकेर खबरदारी गरिएको समाजका सचिव सुवास राईले जानकारीदिए । भानुचोकमा केहीबेर रोकेर साुधेपुछ गरी केही समयपछि छाडिएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठ डाँडाबजारमा आयोजना हुने कार्यक्रममा जाँदै गरेको अवस्थामा रोकिएको उनले जानकारी दिए । कामकै सिलसिलामा हिँडेको भनेपछि उनलाई छोडिएको थियो । यस्तै, सडक विभाग, बिर्तामोड नगरपालिका, कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तेह्रथुम, सडक विभागलगायतको गाडी साथै अन्य सरकारी मोटरसाइकल पनि रोकिएको थियो ।
त्यस्तै, सुनसरीको बर्जु गाउँपालिकाको गाडीलाई पनि उनीहरुले रोकेका थिए । गाडी दुरुपयोग नगर्न आग्रह र सचेत गराउँदै छोडिएको सचिव राईले जानकारी दिए । सार्वजनिक विदाको दिन भानुचोकमा बसेर गाडी नियन्त्रणमा लिन थालिएको उनले जानकारी दिए । पहिलो दिन भएकोले गाडीहरुलाई सचेत गराउँदै छाडिएको उनले जानकारी दिए । उनले अबदेखि सार्वजनिक विदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै हुइँक्याउनेलाई कारवाहीको दायरामा ल्याएरै छाडिने जानकारी दिए ।
उनीहरुले केहीदिनदेखि भीआईपीहरूको सेवासुविधाको खारेजीको माग गर्दै भानुचोकमा अभियान थालेका छन् । समाजले जनप्रतिनिधिदेखि राष्ट्रपतिसम्मलाई दिँदै आएको अनावश्यक सेवासुविधा खारेजीको माग गर्दै आवाज उठाउँदै आएको छ ।
धरानको भानुचोकमा बुधबारदेखि दैनिक अपराह्न ४ बजेदेखि दुईघण्टा धर्ना बस्ने गरेको र यो अभियान देशब्यापी फैलाउने अध्यक्ष कार्कीले जानकारी दिए । ‘जनतालाई महङगी र गरिबीबाट मुक्त गराउन अभियान थालेका हौं’, अध्यक्ष कार्कीले भने, ‘त्यही भएर शनिबार खबरदारी अभियान चलाएका हौं, अब सरकारी गाडी दुरुपयोग गरेको पाइए कारवाहीको दायरामा ल्याउने अभियान चलाउनेछौं ।’
राज्यको सम्पत्ति सकिँदै जाँदा आर्थिक भार थेग्न नसकेकोले सिधा मार जनतामा परेको हुनाले पनि यो अभियान चलाइएको उनले जानकारी दिए ।