धरानः धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको सहयोगमा धरान मेघा थ्री बाइ थ्री एसइई लेवल खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ ।
धरान मेघा कलेजको मुख्य प्रायोजनमा यही साउन ३ र ४ गते दुईदिने विद्यालयस्तरीय प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा कक्षा ५ देखि यसैवर्ष एसइई दिएका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउनेछ । प्रतियोगितामा धरानसँगै बिर्तामोड, उर्लाबारी, धनकुटा, तरहरा र विराटनगरका टिम गरी एक दर्जन विद्यालय टिमले सहभागिता जनाउने आयोजक धरान बास्केटबल संघले जनाएको छ ।
प्रतियोगिताका बिजेता तथा उपविजेताले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीले समेत नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
धरान बास्केटबल संघको आयोजनामा भर्खरै मात्र ट्यालेन्ट हन्ट बास्केटबल टे«निङ क्याम्प सम्पन्न भएको थियो । ट्यालेन्ट हन्टमा सहभागी एसइई दिएर बसेका प्रतिभावान विद्यार्थी खेलाडीहरुलाई धरानको विभिन्न कलेजमा संघले छात्रवृत्तिका लागि सिफारिस गर्नेछ ।
यो प्रतियोगिता बास्केटबल खेल विकास तथा खेलाडीको स्तरोन्नतिका लागि आयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । प्रतियोगिताको सहप्रायोजकको रुपमा सगरमाथा एसडी कलेज रहेको छ । प्रतियोगिता धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा हुनेछ । प्रतियोगिताको खेल तालिका साउन २ गते कफी पव एण्ड रेष्टोमा सहभागी टिमको प्रतिनिधिको उपस्थितिमा तयार गरिने आयोजकले जनाएको छ ।