धरानः धरान-१२ स्थित एम्स एकेडेमीले एसइई स्पिकर–२०७९, सिजन–२ की फष्ट रनरअप प्रतिष्ठा श्रेष्ठलाई सोमबार सम्मान गरेको छ ।
कलेजमै एक कार्यक्रमको आयोजना गरी श्रेष्ठलाई सम्मान गरिएको हो । एकेडेमीका प्रिन्सिपल मित्र तामाङ, भाइस–प्रिन्सिपल सञ्जय पौडेल, कोअर्डिनेटर हेमन्त भण्डारी र शेयर सदस्य युवराज अधिकारीले फष्ट रनर अप श्रेष्ठ र अभिभावक कुमार श्रेष्ठलाई अबिर र खदा लगाएर सम्मान गरेका थिए ।
सम्मानित भएपछि प्रतिष्ठाले कलेजले गरेको सम्मानले आफूलाई खुशी लागेको बताउदै थप हौसला मिलेको बताइन् । उनले भनिन्, ‘म धेरै खुशी छु । आयोजक र एम्स एकेडेमीलाई धन्यवाद ब्यक्त गर्दछु ।’
अभिभावक कुमार श्रेष्ठले छोरीको सफलताले आफूलाई गर्व लागेको बताए । एकेडेमीका प्रिन्सिपल तामाङले एम्स कलेजको पहिलो प्राथमिकता स्तरीय पठनपाठन नै भएको र त्यसपछि विद्यार्थीको अतिरिक्त क्रियाकलापअन्तर्गत क्षमता अभिवृद्धिमा जोड दिइने बताए ।
कोअर्डिनेटर हेमन्त भण्डारीले आयोजक रयाडिकल लाइट नेपाल प्रालिसँग भएको सम्झौताअनुसार एसइई स्पिकरका फष्ट रनरअपलाई ५० प्रतिशत छात्रवृत्ति दिने सम्झौताअनुसार प्रतिष्ठालाई कलेजले छात्रवृत्ति प्रदान गरेको बताए । रयाडिकल लाइट नेपाल प्रालि धरानद्वारा आयोजित एसइई स्पिकरको फाइनल गत असार २९ गते सम्पन्न भएको थियो । फाइनलमा विष्णु मेमोरितल माविबाट एसइई दिएकी प्रतिष्ठा श्रेष्ठ फष्ट रनरअप भएकी थिइन् ।
