Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता शुरु

हाम्रो कोशी आवाज
साउन ३ २०७९, मंगलबार
धरान मेघा थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता शुरु

धरानः धरानमा बास्केटलब प्रतियोगिता शुरु भएको छ ।
धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा आयोजित धरान मेघा थ्री वाइ थ्री एसइई लेवल खुल्ला बास्केटबल प्रतियोगितामा होलिल्याण्ड स्कुल ए, कार्मेल हाइस्कुल, हिमशिखर स्कुल तरहरा र चिल्ड्रेन स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबारदेखि शुरु भएको दुईदिने प्रतियोगितामा होलिल्याण्ड ए टिमले युएन स्कुललाई ८–३, कार्मेलले सयपत्री स्कुल तरहरालाई ६–३, हिमशिखर तरहरा स्कुलले झापा मोडल स्कुललाई ८–१ र चिल्ड्रेन स्कुलले होलिल्याण्ड वि टिमलाई ८–० अंकको अन्तरले क्वाटर फाइनलमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हिमशिखर र चिल्ड्रेन स्कुलले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनल खेलमा कार्मेल र होलिल्याण्ड स्कुलबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेलमा विजेता टिमले सोहीदिन फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका बिजेता टिमले नगद पाँच हजार, दोस्रोले नगद २ हजार पाँच सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजार र उदयीमान खेलाडीले नगद पाँच सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान १२ न. वडाका वडा सदस्य तथा धरान उपमहानगरपालिकाका अर्थ तथा सामाजिक लेखा समिति संयोजक ब्रम्हग्य भट्टराई र कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले संयुक्तरुपमा रेफ्रीलाई बल हस्तान्तरण गरी गरेका थिए ।

प्रदेश १ को बास्केटबल खेल विकासमा धरानको महत्वपूर्ण भूमिका रहेको बताउँदै आफ्नो वडाबाट बास्केटबल खेल र खेलाडीको विकासका लागि नियमितरुपमा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि भट्टराईले मन्तव्यको क्रममा बताए । यसका साथै उनले धरान उपमहानगरपालिकामा समेत बास्केटबल खेल विकासको लागि सहयोगको पहल गर्ने जनाए । कार्यक्रममा धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडलले सहभागी खेलाडी तथा उपस्थित अतिथिहरुलाई स्वागत तथा शुभकामना दिएका थिए ।
धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान र धरान बाहिरका गरी १८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा कक्षा ५ देखि यसैवर्ष एसइई दिएका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक धरान मेघा कलेज रहेको छ भने सह प्रायोजकको रुपमा सगरमाथा एसडी कलेज रहेको छ । उद्घाटन कार्यक्रममा धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, सगरमाथा एसडी कलेजका प्राचार्य सन्तोष राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: साउन ३ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend