Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा बास्केटवलको उपाधि चिल्ड्रेन एकेडेमीको पोल्टामा

हाम्रो कोशी आवाज
साउन ४ २०७९, बुधबार
धरान मेघा बास्केटवलको उपाधि चिल्ड्रेन एकेडेमीको पोल्टामा

धरानः धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको सहयोगमा आयोजित धरान मेघा थ्री वाइ थ्री एसइई लेवल खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि धरान–१५ स्थित चिल्ड्रेन्स एकाडेमीले चुमेको छ ।
बुधबार भएको अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा चिल्ड्रेनले धरान–१५ स्थित होलिल्याण्ड स्कुललाई १२–१० अंकको अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै चिल्ड्रेन स्कुलले नगद ६ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने होलिल्याण्ड स्कुलले नगद तीन हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आयोजकले बिजेतालाई नगद पाँच हजार र उपविजेतालाई दुई हजार ५ सय नगद पुरस्कार तोकेपनि कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष खड्गतबहादुर थापा मगरले विजेता तथा उपविजेता टिमलाई एक एक हजार रुपैयाँ थप गरिदिएका थिए ।
चिल्ड्रेन स्कुलका खेलाडी पारुहाङ चोम्जोङको उत्कृष्ट प्रदर्शनले चिल्ड्रेन स्कुल उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित चेम्जोङले फाइनल खेलमा व्यक्तिगत ८ अंक जोडेका थिए । उनले उपाधिसहित नगद ६ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी पुरस्कार आयोजकले एक हजार नगद घोषणा गरेपनि कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष समाजसेवी प्रभु श्रेष्ठले उत्कृष्ट खेलाडीलाई थप नगद पाँच हजार रुपैयाँ प्रदान गरेका थिए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, कार्यक्रमका प्रमुख अतिथि धरान १८ नं. का वडाध्यक्ष प्रविण राई, सियोन स्कुलका अध्यक्ष खड्गबहादुर थापा मगर, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल, धरान सरोकार समाजका अध्यक्ष समेत रहेका श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
दुईदिने प्रतियोगिताको सेमिफाइनल खेल भने बुधबार नै फाइनल खेलअघि खेलाइएको थियो । सेमीफाइनल खेलमा चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ११–१ र होलिल्याण्ड स्कुलले कार्मेल स्कुललाई १२–७ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
५ कक्षादेखि यसै वर्ष एसइई दिएका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: साउन ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend