धरानः धरानमा हाइकिङ गीत तयार भएको छ ।
चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो, राम तामाङ, दिप्सन घिमिरे गायिकाहरु रमेलिना राई, प्राश्ना शाक्य, मुना श्रेष्ठ, पम्फा चहार र धरानका मेयर हर्कराज राई (साम्पाङ) को स्वर छ । सेवक अभियानका संयोजक राजीव हलवाईले रचता गरेको सो गीतको संगीत तथा एरेन्ज मनोज मोतेले गरेका हुन् भने रेकर्डिङ भावना डिजिटल रेकर्डिङ धरानका हेम सुब्बाले गरेका हुन् । पर्यटन प्रवद्र्धन र प्रकृतिमूलक गीत स्वास्थ्यका लागि प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको संयोजक हलवाईले जानकारी दिए ।
बुधबार धरान–३ स्थित खड्गी सेवा समितिको भवनमा सो गीत सार्वजनिक गर्ने भनेपनि गीत, सङ्गीतका व्यक्तित्वहरुसँगै राखेर सो गीत सार्वजनिक गर्ने तयारीमा रहेको अभियानका संयोजक राजीव हलवाईले जानकारी दिए ।
मानव सेवामा समर्पित सेवक अभियानले बुधबार प्रगति प्रतिवेदन पनि सार्वजनिक गरेको छ । संस्थाको ८ औं वार्षिकोत्सवमा सो प्रतिवेदन सार्वजनक गरेको हो । सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विजय श्रेष्ठले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा धरान–३ का कार्यवाहक वडाध्यक्ष एवं खड्गि सेवा समाज सुनसरीका अध्यक्ष मनिष खड्गीले सेवक अभियानले विभिन्न क्षेत्रमा सहयोग हात बढाएर पिछडिएका बालबालिकालाई शिक्षामा सहयोग साथै अन्य सामाजिक काम गरेको बताए । मितेरी डेभलपमेन्ट बैंक धरानका कार्यकारी प्रमुख तुलसीप्रसाद वस्तीले निःशुल्क भावनाले समाजसेवा समर्पित अभियान अहिलेसम्म सार्थक रहेको बताए ।
कार्यक्रममा सुनसरी उवासंघका अध्यक्ष श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी सुनसरीका उपाध्यक्ष मुकुल कायस्थ र नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष अनिल मास्केलगायतले पनि शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालक सेवकका महासचिव खगेन्द्र कुवँरले गरेका थिए ।
यसैबीच सेवकले अपाङ्ग पुनस्थापना केन्द्रलाई एकहप्ताभरि पुग्ने फलफूल, दूध दही अन्य खानेकुरा प्याक गरी २ सय १५ लिटरको फ्रिज सहयोग गरेको छ ।
२०७२ साउन ४ गते सामाजिक काम गर्दै जन्मिएको संस्था धार्मिक स्थलको प्रचार, मन्दिर बाटो सरसफाइ, पदयात्रा गर्दै २०९ औं हप्तामा रनिङ भइरहेको जानकारी दिइयो । सरसफाइ अभियान ९३ औं हप्तामा रनिङ साथै धरान–१ स्थित अपाङ्ग पुनस्थापना केन्द्रमा रहेका २१ जना आश्रितहरुसँग जन्मदिन मनाउने, खाना खुवाउने कार्यक्रम गर्दै आएको संस्थाले धरानदेखि पूर्वी पहाडी जिल्लाका विद्यालयहरुमा स्कुलपोशाक, शैक्षिक सामग्री वितरण, घुम्ती शिविर सञ्चालन गर्दै आइरहेको जनाइएको छ ।
आगामी दिनमा धरानको बीपी प्रतिष्ठानमा उपचाररत बिरामीलाई रगत अभाव हुन नदिन संस्थाको अगुवाईमा हरेक शनिबार रक्तदान कार्यक्रम गर्ने योजना अघि बढाइएको संस्थाका संयोजक हलवाईले जानकारी दिए ।
तस्वीरहरुः लक्ष्मण थापा


