धरानः धरानमा प्रहरीले सातजनालाई पक्राउ गरेपछि सार्वजनिक गरेको छ ।
लुटपाट, गुण्डागर्दी साथै हतियार प्रहार गरी फरार रहेका ७ जनालाई सार्वजनिक गरेको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सुरज राई, विदुर राई, योगेश तामाङ, निश्चल राई, रोजन लिम्बू, नकुल राई र दिवस राई रहेका छन् ।
गत असार ३० गते राति धरानका टिकाराम राईसहित अन्यमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका सुरज, विदुर, योगेश, निश्चल र रोजनलाई धनकुटाको साँगुरीगढी गाउँपालिका ५ सिंकुला भन्ने ठाउँबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट तीन थान घरेलु हतियार पनि प्रहरीले बरामद गरेको छ ।
यस्तै, धरान–१८ बीपी सुन्दर बजारमा तीर्थबहादुर दाहालको मोबाइल, नगद लुटेपछि फरार रहेका नकुललाई धरान–२० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, गत वर्ष २०७८ साउन ११ गते धरान–११ का किरण तामाङलाई खुकुरी प्रहार गरि घाइते बनाएर फरार रहेका खरायो भनिने दिवस राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।