धरानः डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्राविधिक सहयोगमा यही श्रावण १५ गतेदेखि शुरु हुन लागेको प्रदेश १ स्तरीय मेजर श्रवणकुमार मेमोरियल अन्तर विद्यालय डिपो बास्केटबल रनिङ कपमा १६ वटा टिमले सहभागिता जनाउने भएका छन् ।
डिपो स्कुल व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिवंगत मेजर श्रवणकुमारको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिताको शुक्रबार खेल तालिका तयार गरी आयोजकले सार्वजनिक गरेको छ । सहभागी विद्यालयको प्रतिनिधिहरुको उपस्थितिमा खेल तालिका तयार पारिएको आयोजकले जनाए । प्रतियोगिताको उद्घाटन खेल चिल्ड्रेन एकेडेमी र हिमशिखर तरहराबीच हुनेछ ।
प्रतियोगितामा आयोजक डिपो स्कुल, सियोन स्कुल, सगरमाथा स्कुल, लोटस, चिल्ड्रेन एकेडेमी, होलिल्याण्ड, टावर टेम्पल स्कुल बिर्तामोड, हिमशिखर स्कुल तरहरा, सयपत्री स्कुल तरहरा, विश्व आदर्श स्कुल इटहरी, युएन स्कुल, सुनाखरी स्कुल, केके इन्टरनेशनल, दिल्ली पब्लिक स्कुल, कार्मेल स्कुल र समिट स्कुलले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको उदघाटनको दिन चार वटा खेल सम्पन्न हुने प्राविधिक सहयोगको रुपमा रहेको धरान बास्केटबल संघले जानकारी दिएको छ । विद्यालयस्तरीय प्रतियोगितामा यसै वर्ष एसईई दिएका विद्यार्थीसम्मका खेलाडीहरुले सहभागी हुन पाउने छन् ।
प्रतियोगिताका बिजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सम्पूर्ण खेल धरान १८ स्थित आयोजक डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।