Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रदेशस्तरीय बास्केटबल शुरु

हाम्रो कोशी आवाज
साउन १५ २०७९, आइतबार
धरानमा प्रदेशस्तरीय बास्केटबल शुरु

धरानः डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्रविधिक सहयोगमा आयोजित प्रदेश १ स्तरीय अन्तर स्कुल बास्केटबल प्रतियोगिता शुरु भएको छ ।
प्रदेशस्तरीय मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ कप धरानमा आयोजना भएको हो । शनिबारदेखि शुरु भएको प्रतियोगिताको उदघाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्कराज राई साम्पाङले पानसमा दीप प्रज्ज्वलन गरेर गरेका थिए ।
प्रमुख अतिथि मेयर साम्पाङले खेलकुद क्षेत्रलाई पनि उद्योगकै रुपमा विकास गर्न सरकार लागिपर्नुपर्ने बताए । ‘हाम्रो देशमा खेलकुद क्षेत्र उद्योगका रुपमा लैजान सकिन्छ’, उनले भने, ‘यसको लागि सरकार लाग्नुपर्छ ।’
धरानको खेलकुद क्षेत्रको विकासमा केन्द्र र प्रदेश सरकारले नै विशेष योजना र लगानी गर्नुपर्ने उनको धारणा थियो । उनले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकार लागिपर्ने पनि बताए । धरानको खेलकुद र खेलाडीको उत्पादनमा उपमहानगरले कुनै कन्जुस्याइँ नगर्ने समेत मेयर साम्पाङले बताए ।
मेयर साम्पाङ सोही स्कुलबाट एसएलसी दिएका थिए ।
कार्यक्रमको अध्यक्षता डिपो स्कुल व्ययवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो । डिपो स्कुलले विद्यालयको व्यवस्थापन समिति पूर्व अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मानमा प्रतियोगिता आयोजना गरेपनि बास्केटबल खेल र खेलाडी उत्पादनमा यसको महत्वपूर्ण भूमिका रहने कार्यक्रमका विशेष अतिथि सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताए ।
प्रतियोगिता डिपो स्कुल व्यवस्थापन समितिका पूर्व अध्यक्ष मेजर श्रवणकुमारको सम्मानमा आयोजना गरिएको हो । वि.सं १९९४ मा जन्मिएका लिम्बूको आइतबार अर्थात् २०७८ श्रावण १५ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । उनले २०४७ देखि २०६२ सालसम्म विद्यालयको व्यवस्थापन समितिमा सल्लाहकार, २०५९ सालदेखि विद्यालयको बोर्ड अफ ट्रस्ट्रिजमा अध्यक्ष र २०६२ सालदेखि निरन्तर व्यवस्थापन समितिको अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
प्रतियोगितामा धरान र धरान बाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको सम्पूर्ण खेल आयोजक डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न गर्ने तयारी भएतापनि उद्घाटन कार्यक्रमको क्रममा पानी पर्न शुरु भएपछि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो खेल धरान–१६ स्थित कर्भडहलमा सम्पन्न भएको थियो । अन्य दिनमा पनि वर्षाले खेल सञ्चालनमा बाधा पुरयाए बाँकी खेल समेत धरान–१६ स्थित कर्भडहलमा आयोजना गरिने डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा विद्यालय बोर्ड अफ ट्रस्ट्रिज कार्यवाहक अध्यक्ष भीमराज लिम्बू, प्रतियोगिताका संयोजक एवं व्यवस्थापन समिति सदस्य सिंगापुर पुलिस एएसपी वीरेन्द्रविक्रम लिम्बू, व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक, धरान बास्केटबल संघका संस्थापक डिएसपी खगेन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।
पहिलोदिन सगरमाथा स्कुल, चिल्ड्रेन एकाडेमी, टावर टेम्पल स्कुल बिर्तामोड र कार्मेल हाइस्कुल विजयी भएका छन् । आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा सगरमाथा स्कुलले युएन स्कुललाई २४–२२, चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ३४–१४, टावर टेम्पल स्कुल बिर्तामोडले धरानको सुनाखरी स्कुललाई ३९–२ र कार्मेल स्कुलले दिल्लि पव्लिक स्कुललाई २६–१५ अकंको अन्तरले पराजित गरेका छन् ।
प्रतिस्पर्धात्मक भएको पहिलो खेलमा सगरमाथा स्कुल र युएन स्कुलले प्रत्येक क्वाटरमा ७–६, ०–४, ८–६ र ९–६ अंक जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन स्कुल र हिमशिखर स्कुलल तरहराले ७–७, ४–३, ११–४ र १२–० अंक जोडेका छन् । यसैगरी तेस्रो खेलमा टावार टेम्पल र सुनाखरी स्कुलले १२–०, १४–०, ९–० र ५–२ अंक जोडे । चौथो खेलमा कार्मेल स्कुल र दिल्ली पब्लिक स्कुलले २–२, ६–२, ११–९ र ९–२ अंक जोडे ।
सोमबारको पहिलो खेल आयोजक डिपो स्कुलविरुद्ध होलिल्याण्ड स्कुल, दोस्रो खेल समिट स्कुलविरुद्ध लोटस स्कुल र तेस्रो खेल सियोन स्कुलविरुद्ध विश्वआदर्श स्कुल इटहरीबीच हुनेछ ।

प्रकाशित मिति: साउन १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend