धरान-१२ स्थित सुनाखरी एकेडेमीले एसइई परीक्षा २०७८ मा उत्कृष्ट नतिजा निकालेका छन् ।
शत प्रतिशतसहित उत्कृष्ट नतिजा निकालेको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । प्रिन्सिपल राईका अनुसार सुनाखरीबाट २४ जना सहभागी विद्यार्थीमध्ये २ जना ए प्लस, ८ जना ए, १४ जना बि प्लस ल्याएर शतप्रतिशतसहित उत्कृष्ट नतिजा ल्याएका छन् । ‘यो उत्कृष्ट नतिजा हो’, उनले भने ।
यसैबीच विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको खुशीयालीमा विद्यार्थीलाई सम्मान गरिएको छ । स्कुल परिसरमा आयोजित कार्यक्रममा एकेडेमीका अध्यक्ष प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर टपकुमार राई, अध्यापक आनन सुब्बालगायतले उनीहरुलाई सम्मान गरेका थिए । विद्यार्थीलाई खदा र अविरले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले उत्कृष्ट नतिजा आउनुमा विद्यार्थी, अभिभावक र शिक्षककै पनि अथक प्रयास रहेको बताए । ‘विद्यार्थीले मिहिनेत गरेर नपढीदिएको भए, अभिभावकले हौसला र सहयोग नगरिदिनुभएको भए साथै शिक्षकले अथक प्रयास नगरेको भए उत्कृष्ट नतिजा आउने थिएन’, उनले थपे, ‘उत्कृष्ट नतिजा आउनुमा सबैको जोडबल छ ।’
उनले सुनाखरीले कक्षा–१२ मा पनि उत्कृष्ट नतिजा ल्याउने तयारी थालिसकेको बताए । उनले कक्षा–११ मा म्यानेजमेण्ट सङ्काय सञ्चालन भएको बताउँदै गुणस्तरीय शिक्षाका लागि आउन विद्यार्थीलाई आग्रह गरे । ‘खासमा हामीले अहिलेसम्म दिएको भनेको गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप नै हो, त्यसैलाई निरन्तरता दिँदै जानेछौं, यसका लागि पनि विद्यार्थीले सुनाखरी नै रोज्नुपर्छ ।’
कार्यक्रममा बोल्दै प्लस टु कोअर्डिनेटर टपकुमार राईले आगामी वर्षहरुमा पनि कक्षा–११ का विद्यार्थीले सफलता हासिल गर्दै गएको र त्यसैलाई कायम गर्ने बताए । उनले पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै जाने र नतिजालाई पनि यतिकै कायम राखेर जाने बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज






























