Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको होलिल्याण्ड स्कुल प्रदेशस्तरीय बास्केटबलमा च्याम्पियन

हाम्रो कोशी आवाज
साउन २० २०७९, शुक्रबार
धरानको होलिल्याण्ड स्कुल प्रदेशस्तरीय बास्केटबलमा च्याम्पियन

धरानः धरान-१५ स्थित होलिल्याण्ड स्कुल प्रदेश १ स्तरीय अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ कपको च्याम्पियन बनेको छ ।
शुक्रबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा होलिल्याण्ड स्कुलले चिल्ड्रेन एकेडेमीलाई ४४–३३ अंकको अन्तरले पराजित गर्दै रनिङ कप उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले अग्रता बनाउँदै उपाधिमाथि कव्जा जमाउन सफल भएको हो ।
खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले १३–६, ८–७, १२–११ र ११–९ अंकको अन्तर बनाएको थियो । खेलमा होलिल्याण्डका युडी लिम्बूले व्यक्तिगत १५ अंक जोडे भने चिल्ड्रेनका पारुहाङ लिम्बूले २० अंक जोडेका थिए ।
होलिल्याण्ड स्कुलले उपाधिसँगै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, उपविजेता चिल्ड्रेन एकेडेमीले नगद सात हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उनीहरुलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बू, विद्यालय शैक्षिक गुठी कार्यसमिति कार्यवाहक अध्यक्ष लेफटिनेन्ट भीमबहादुर लिम्बू, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्डका युडी लिम्बू घोषित भए । यसैगरी प्रतियोगिताभरिका हाइ स्कोररको उपाधि होलिल्याण्डकै इङवाहाङ लिम्बू घोषित भए । उनले प्रतियोगिताभरि चार खेलबाट व्यक्तिगत ७७ अंक जोडेका थिए । उनीहरुलाई जनही दुई हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्राविधिक सहयोगमा साउन १५ गतेदेखि प्रतियोगिता शुरु भएको थियो । शुक्रबार भएको फाइनल खेलको उदघाटन कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले रेफ्रीलाई बल हस्तान्तरण गरी गरेका थिए । कार्यक्रममा डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राई, विद्यालय व्यवस्थापन समिति सदस्य सूर्यप्रकाश पन्धाक, उपाषी राई, इन्द्ररानि सुब्बा, सुनसरी बास्केटवल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मान तथा स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो । लिम्बूको ८३ वर्षको उमेरमा वि.स. २०७८ श्रावण १५ गते निधन भएको थियो । प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: साउन २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend