Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान मेघा कलेजमा विद्यार्थीको क्रेज’

हाम्रो कोशी आवाज
साउन २० २०७९, शुक्रबार
‘धरान मेघा कलेजमा विद्यार्थीको क्रेज’

धरान मेघा हिमालयन कलेजमा विद्यार्थीको क्रेज बढ्दो छ । केहीदिनअघि लिइएको प्रवेश परीक्षामा धरानलगायत अन्य जिल्लाबाट करिब ५ सय ५० विद्यार्थीले सहभागिता जनाएका थिए । कलेजका प्रिन्सिपल भाष्कर पौडेलसँग गरिएको कुराकानी
यहाँ कुन कुन विषय पठनपाठन हुने गरेको छ ?
–हामीले साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, कम्प्युटर साइन्स, फुड एण्ड न्युट्रीसनको पठनपाठन गराउँदै आएका छौं । विशेषतः साइन्सलाई नै फोकस गरेर अत्याधुनिक प्रकारको साइन्स ल्याब पनि निर्माण गरेका छौं भने होटल म्यानेजमेण्टलाई पनि फोकस गरेर प्रदेश १ मै स्तरीय प्राक्टिकल ल्याब तयार गरेका छौं ।
विद्यार्थी चासो दिइरहेका छन् ?
–अवश्य पनि चासो दिइरहेका छन् । भर्ना खुल्यो भनेर जानकारी दिँदादेखि नै विद्यार्थीको चाप बढ्दै गएको पाइएको छ ।
विशेषतः कुन विषयमा विद्यार्थीको रुचि बढेको पाइयो ?
–विशेषतः फुड एण्ड न्युट्रीसन, साइन्स, होटल म्यानेजमेण्ट विषयमा चासो बढेको छ । यी विषय रोजगारीसँगै जोडिएकोले पनि विद्यार्थीको चासो बढेको हुनसक्छ ।
कलेजमा फरक के छ ?
–हामीले विद्यार्थीको रुचि र चासो अनुसार ध्यान दिने कोसिस गरिरहेका छौं । मानौं, कोही विद्यार्थी साइन्स पढेर डाक्टर, इन्जिनियर बन्न चाहन्छन् । उनीहरुले तयारी कक्षाको ‘फेस’ गर्नुपर्ने हुन्छ । हामीले त्यसको लागि कक्षा–११ को बीच कक्षादेखि नै तयारी कक्षा सञ्चालन गर्दैछौं । यस्तै, पूर्वमै अत्याधुनिक विज्ञान प्रयोगशाला, होटल म्यानेजमेण्टको स्तरीय ल्याब, लाइब्रेरी, होस्टल, खेलकुद आदिमा जोड दिँदै आएका छौं । हामीले किताबको पढाइ मात्रै होइन बाहिरी ज्ञान पनि दिने कोसिस गरेका छौं । यहाँ विद्यार्थीलाई रमाइलोका साथ पढाउने कोसिस गरिरहेका छौं ।
धेरैजनाको लगानी छ भन्ने सुनिन्छ नि ।
–हो, यस कलेजमा धरानका धेरैजना शिक्षा सम्बन्धित व्यक्तित्वहरुको लगानी छ । मेघा प्रोजेक्टकै रुपमा मेघा कलेजको स्थापना गरेका हौं ।
धरानलाई शैक्षिक हब बनाउन सकिन्छ ?
–आजभन्दा २०–३० वर्षअघि विराटनगरमा विद्यार्थी धरान पढ्न आउँथे । म र हाम्रा साथीहरु पनि पढ्नका लागि धरान जाने है भन्ने हुन्थ्यो । हुन पनि हो यहाँ, इञ्जिनियरिङ कलेज छ, संस्कृत क्याम्पस छ, विज्ञानका लागि हात्तिसार क्याम्पस छ, यस्तै, महेन्द्र कलेज, बीपी प्रतिष्ठानमा डाक्टर, नर्स उत्पादन हुँदै आएका छन् । त्यतिबेला धरान एउटा शैक्षिक हबजस्तै बनिसकेको थियो । त्यो साख र चार्म अहिले हराउँदै गएको आभाष हुन थालेको छ ।
तर राजनीतिक वा अन्य कारणले पनि यहाँ शैक्षिक हब बन्न नसकेको हो कि जस्तो लाग्छ । अब शैक्षिक हब बनाउन के कमजोरी छन् आदि इत्यादि खोज्नुपर्ने भएको छ । हामी शिक्षाविदकै पनि कमजोरी छ कि, राजनीतिक अवस्थाले पनि यस्तो गरायो कि, अभिभावकवर्गको कमजोरी हो खोजिनुपर्छ, केलाइनुपर्छ भन्न चाहन्छु ।
धरानमा दिग्गज शैक्षिक व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुको पहल हुने हो भने साँच्चै धरान शैक्षिक हब बन्न सक्छ । यस्तै, धरानका स्वच्छ प्रतिस्पर्धा राख्दै शिक्षा क्षेत्रका व्यक्तित्वहरु लाग्ने हो भने धरान शैक्षिक हब बन्न केही बेर लाग्दैन ।
विद्यार्थी अझै काठमाडौं पुग्नुपर्ने ?
–मैले पनि काठमाडौंमा केही वर्ष पढाएँ । मेरो अनुभवले भन्छ– धरानमै सबै सेवा–सुविधा देख्छु । अब विद्यार्थी काठमाडौं गइरहनु पर्छजस्तो लाग्दैन । बाबुआमाको मायाबाट टाढा रहँदा काठमाडौंमा विद्यार्थी पुग्दा बिग्रिने समेत हुन्छ ।
विद्यार्थीका लागि के छ सुविधा ?
–हामीले पैसा तिर्ने विद्यार्थी मात्रै होइन कि विविधता भएको विद्यार्थी लिन्छौं । हामीले तीन क्याटोगोरीमा छात्रवृत्तिको व्यवस्था गरेका छौं । विद्यार्थीको शैक्षिक अवस्था, आर्थिक अवस्था र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीलाई छात्रवृत्तिमा समावेश गरेका छौं । जेहेन्दार, मिहिनेती र अब्बल विद्यार्थीलाई निःशुल्कदेखि २५, ५० र ७५ प्रतिशतसम्म छुट दिएका छौं ।
कलेजका विशेषता के के छन् ?
–दक्ष र अनुभवी शिक्षक–शिक्षिकाहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो ध्येय हो । नतिजा राम्रो भयो भने कलेजको भविष्य पनि राम्रो हुन्छ भन्ने हामीले सोंचेका छौं । कलेजको पठनविधि व्यावहारिक र प्रयोगात्मक हुन्छ । यस्तो पठन विधिले विद्यार्थीको ज्ञान, सीप र क्षमता विकासमा ठूलो सहयोग पुरयाउँछ । अर्थात् विद्यार्थीको नतिजा रिजल्टमा आउने उत्कृष्ट नम्बरमा मात्रै सीमित नराखी उनीहरूको दैनन्दिनमा प्रयोगमा आउने संस्कार, बोली वचन, बजारमा प्रस्तुत हुँदा उनीहरूमा विकसित आत्मनिर्भरता र नेतृत्वदायी भूमिकामा समेत विद्यार्थीलाई उजागर गर्दै लैजाने खालको अध्ययन शैली कलेजले अवलम्वन गर्नेछ । कलेजले जीवनकै परीक्षा सफल बनाउने रोडम्याम समेत तयार गर्न विद्यार्थीलाई मद्दत गरिदिन्छ ।
कलेजमा फिजिक्स, बायोलाजी, केमेस्ट्री, कम्युटर साइन्स लगायतका छुट्टाछुट्टै र बृहत्त ल्याबहरू छन् भने होटल व्यवस्थापन विषय पढ्ने र पर्यटन विषय पढ्ने विद्यार्थीहरूका लागि सोही अनुरूपको प्रयोगात्मक सीप उपलब्ध रहेको छ ।
अध्ययन अध्यापनका साथसाथै यस कलेजले विद्यार्थीलाई विभिन्न अध्ययन भ्रमण, प्रोजेक्ट वर्क, गोष्ठी लगायत अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको क्षमता विकास गराउन प्रेरित गर्नेछ ।
बास्केटबल, भलिबल, फुटसलमा विद्यार्थीलाई जोड दिइनेछ । त्यतिमात्र होइन हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता आदिमा विद्यार्थीलाई गतिशील गराइनेछ । खेलकुदले विद्यार्थीलाई अनुशासित, स्वस्थ र गतिशिल बनाउने कलेजको बुझाइ छ ।
भर्ना भएका विद्यार्थीलाई निश्चित उद्देश्यमा पुरयाउने गरी पठनपाठनका गतिविधिमा तथा अन्य विविध अतिरिक्त क्रियाकलापमा लगाउने हुनाले प्रत्येक वर्ष विद्यार्थी, अभिभावकले मन जित्न सकुन् । अर्थात् कलेजले भने बमोजिमका गतिविधि गर्नमा पनि कुनै कमी राख्दैन ।
साथमा कलेजका अध्यक्ष कैलाश लिम्बू, बिबिएस, म्यानेजमेण्ट कोअर्डिनेटर चन्द्र वनेम लिम्बू, एचएमका हेड अफ डिपार्टमेण्ट अफ पोषण श्रेष्ठसँगको कुराकानी भिडियोमा :

प्रकाशित मिति: साउन २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend