Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उच्च कलेजः गुणस्तरीय शिक्षामा उच्च

हाम्रो कोशी आवाज
साउन २२ २०७९, आइतबार
धरान उच्च कलेजः गुणस्तरीय शिक्षामा उच्च

धरानः धरान उच्चको उच्चता चुलिँदै गएको छ । कारण हो– गुणस्तरीय शिक्षा प्रदान गर्नु अनि नतिजामा पनि उत्कृष्टता । २०५५ सालमा स्थापना भएको कलेजले एउटा इतिहास बनाएको छ । इतिहास बनाएको धरान उच्च शिक्षाक्षेत्रका प्रवुद्ध समाजसेवी तथा शिक्षाप्रेमीद्वारा सञ्चालित छ । महेन्द्र, हात्तीसारलगायत कलेजमा अध्यापन गराइसकेका र गराइरहेका अध्यापकहरुद्वारा सञ्चालित यो कलेज धरानमा पुरानो कजेज मानिन्छ ।
साइन्स, कम्प्युटर साइन्ट, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, बिबिएलगायतका विषय यहाँ पढाइ हुने यस कलेजले देशका लागि थुप्रै आदर्शवान, योग्य नागरिक तयार पारिसकेको छ । ‘योग्य शिक्षक, नैतिक र व्यावहारिक शिक्षा नै धरान उच्चको विशेषता हो,’ प्रिन्सिपल चित्रप्रसाद ढुंगेल भन्छन्, ‘बाहिरी भौतिक संरचना मात्रै होइन, शैक्षिक गतिविधि पनि उत्कृष्ट रहेको छ ।’
कलेजका अध्यक्ष तथा महेन्द्र क्याम्पस धरानका क्याम्पस प्रमुख समेत भइसकेका लड्डुप्रसाद शाही कलेजले शत प्रतिशत नतिजा ल्याउँदै आएको दाबी गर्छन् । उनी भन्छन्, ‘धरान उच्चले शत प्रतिशत नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन गर्नु मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्नु होइन । अध्ययनपश्चात् विद्यार्थीहरू कहाँ के गरिरहेका छन् भन्ने पक्षमा आधारित हुन्छ । त्यसमा धरान उच्चको २५ वर्षे दौरानमा विद्यार्थीको प्रगति हेरे पुग्छ ।’
पछिल्लो समय विद्यार्थीहरू आत्मनिर्भर बन्दै गएको साइन्स कोअडिनेटर सुनिल भगत बताउँछन् । ‘विद्यार्थीलाई पढ भनिरहनुपर्दैन । विद्यार्थीहरूले निश्चित उद्देश्य लिएर पढिरहेका हुन्छन् । उनीहरूले समयको महत्व बुझेको महसुस गरेको छु । उनीहरू भविष्यको योजनामा दृढ छन्, त्यही भएर धेरै विद्यार्थी डाक्टर, इन्जिनियर साथै अन्य पदमा पनि आसिन भइसकेका छन्,’ उनी भन्छन् ।
विद्यार्थीको लुकेको प्रतिभा प्रष्फुटन गर्न कलेजले समय–समयमा विशेष क्रियाकलापहरु आयोजना गर्दै आएको छ । विद्यालयले विद्यार्थीमा नैतिकता, चरित्रवान् तथा विश्व भाइचाराको भावना प्रष्फुटन गर्न विशेष जोड दिने गरेको जनाएको छ । शिक्षाको उद्देश्य रटाउने र घोकाउने कदापि हुनु हुँदैन भन्ने कलेजको मान्यता छ ।
व्यवस्थित सुविधासम्पन्न आफ्नै पक्की भवनहरु, शुद्ध खानेपानी, शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला कलेजका थप आकर्षण हुन् । यो कलेज आफ्नो उद्देश्य र लक्ष्यमा अटल छ । यस विद्यालयबाट उत्तीर्ण विद्यार्थीले उच्च शिक्षामा उत्कृष्ट प्रदर्शन गर्नुका साथै विभिन्न रोजगारमा पनि आवद्ध भएका छन् ।
अभिभावक, विद्यार्थीले सन्तुष्टि मान्नु नै हाम्रो उपलब्धि होः पूर्व प्रिन्सिपल राजविमल श्रेष्ठ
२०५५ सालमा हामीहरुले शिक्षा क्षेत्रमा केही योगदान दिने हेतुले निजी लगानीमा कलेज सञ्चालनमा ल्यायौं । आजका दिनसम्म आइपुग्दा आफ्नो लक्ष्यमा सफल भएर पनि नयाँ नयाँ लक्ष्य कायम गर्न सफल भएको महसुस भएको छ । किनकि यो कलेज यस क्षेत्रकै एउटा उत्कृष्ट नमूना संस्थागत विद्यालयको रुपमा परिचित हुन सफल छ । हामीले अभिभावकहरुको पनि उत्तिकै सहयोग पाएका छौं । उहाँहरुले हामीप्रति गर्नुभएको विश्वास अझै दृढ बनाउन प्रतिबद्ध छौं । बदलिँदो समयसग मिल्ने गरी सहज, सुलभ र सरल तरिकाले प्रविधि जोडेर पठनपाठन गर्ने कलेजले व्यवस्था मिलाएको छ ।
फलस्वरुप विद्यार्थीले पनि उत्कृष्ट नतिजा ल्याउन सफल छन् । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापको व्यवस्था गरेको छ । शिक्षाको उद्देश्य रटाउने र घोकाउने हुनु कदापि हुँदैन । यसले व्यक्तिमा सीपको विकास गर्नुपर्दछ । कलेज परिवार, अभिभावक र विद्यार्थीको साथ सहयोगले आज यो विद्यालय गौरव गर्नलायक कलेज भएकोमा खुसी व्यक्त गर्दछु । सबैबाट धेरै माया र सहयोग पाएका छौं, जसले गर्दा कलेजको हितमा नयाँ नयाँ योजना बनाउन उत्साहित छौं ।
धरान उच्च पुरानो कलेज हो । २५ वर्षसम्म हामीले जे गरयौं, त्यहीलाई विद्यार्थी, अभिभावकले पछ्याउने हो । २५ वर्षको दौरानमा आइपुग्दा हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेका छौं जस्तो लाग्छ । त्यसकै आधारमा विद्यार्थी, अभिभावक आइरहनुभएको छ । यहाँ अध्ययन गरेका विद्यार्थी संसारभर छरिएर राम्रो काम गरिरहनुभएको छ, हामीले जे जति गरयौं, अभिभावक, विद्यार्थीले राम्रो मानिदिनुभएको छ, त्यसमै हामीले गर्व गरेका छौं । हामीले कहिल्यै पनि प्रदेश टप, नेपाल टप भनेनौं, त्यसको पछि लागेनौं । अझ भन्ने हो भने हामीले धेरै हल्लाखल्ला गरेनौं । यहाँबाट उत्पादन भएका विद्यार्थी कहाँ छन्, कस्तो अवस्थामा छन्, त्यसले महत्व राख्छ । ,अभिभावक, विद्यार्थी सन्तुष्टि हुनु नै हाम्रो उपलब्धि हो ।
विद्यार्थीको प्रगति अतुलनीय छः साइन्स कोअर्डिनेटर सुनिल भगत
कुनै पनि देशको विकासको निम्ति त्यसको शिक्षा व्यवस्थामा टिकेको हुन्छ । त्यसैले शिक्षालाई तेस्रो आँखा भनिएको हो । यस कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदैआएको छ । सुन्दर र शान्त वातावरणमा विद्यार्थीको प्रतिभा विकास गर्दै उनीहरुलाई सफल नागरिक बनाउन कलेज कटिबद्ध छ । साथै सम्पूर्ण अभिभावक तथा विद्यार्थीले साथ र सहयोग आगामी दिनमा पनि रही रहने अपेक्षा गर्दछौं ।
हामीले यस पेशालाई न्याय गर्न सक्नुपर्दछ । विद्यार्थी, अभिभावकको आँखामा हामी कति उभिएका छौं । २०५५ सालदेखि निरन्तर चलिरहेको धरान उच्च विद्यार्थी, अभिभावकको आँखामा बस्न कति सकेको छ, त्यो नै ठूलो कुरा हो ।
यहाँ २५–३० वर्ष जीवन बिताइसकेका दक्ष अध्यापकहरु हुनुहुन्छ । अहिलेसम्म जति विद्यार्थी पढे, विद्यार्थी सन्तुष्ट छन्, अभिभावक सन्तुष्ट छन् जस्तो लाग्छ । विद्यार्थीको बेसिक फाउन्डेसन राम्रो हुनुपर्छ, त्यो धरान उच्चले पूरा गरिदिएको छ । यहाँ फरक फरक विद्यार्थी आउँछन्, जो कमजोर छ, उसलाई उस्तै व्यवहार गर्ने गरिन्छ । यहाँ हामीले विद्यार्थीले पढ्दा ‘इन्जोय’ गरेर पढ्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेका छौं ।
फ्याकल्टीवाइज हेड हुनुहुन्छ, उहाँहरुकै निर्देशनमा विद्यार्थीलाई हेरचाह हुन्छ । यहाँबाट प्रत्येक वर्ष डाक्टर, इन्जिनियर बन्दैछन्, एमबिबिएस, नर्सिङतिर विद्यार्थीको झुकाव बढेको पाइएको छ । १ हजारभन्दा बढी डाक्टर बनिसके, १३ सय बढी नर्स बनिसके, १ हजार बढी इन्जिनियर बनिसके । इन्जिनियर बनेर नेपालमै रहेका हाइड्रो पावरमा धेरै विद्यार्थी जागिर खाइरहेका छन् । विद्यार्थीलाई क्वालिटीको आधारमा कलेजले छात्रवृत्ति पनि प्रदान गर्ने आएको छ । विशेषतः क्वालिटी हेरेर १०० प्रतिशत र ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आएका छौं ।

प्रकाशित मिति: साउन २२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend