Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका कलेजले राजधानी जान रोक्दै

हाम्रो कोशी आवाज
साउन २२ २०७९, आइतबार
धरानका कलेजले राजधानी जान रोक्दै

धरानः एसईईपछि अभिभावक र विद्यार्थीको चिन्ता हुन्छ, अब कहाँ अध्ययन गराउने र गर्ने भनेर । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा–११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी राम्रो ‘कलेज’को खोजीमा हुन्छन् ।
विद्यार्थी र अभिभावकले राम्रो ‘कलेज’को खोजी गर्नुले ‘कलेज’ लाई कलेज ‘ह्याङ’बाट व्यावहारिक रूपमा निस्कन अझै गाह्रो छ भन्ने पुष्टि हुन्छ । यद्यपि, कक्षा १२ सम्मको अध्ययन माध्यमिक तहको शिक्षा नै हो भन्ने कुरामा अब दुईमत छैन ।
कतिपय शैक्षिक संस्थामा भने विद्यार्थीले १० वर्षसम्म आफूले अध्ययन गरेकै विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने गरेका छन् । राम्रा ‘कलेज’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यहाँ धरानमा रहेका केही कलेजका बारेमा जानकारी दिन खोजिएको छ । विद्यार्थीको उज्जवल भविष्यका निम्ति उल्लेखित शैक्षिक संस्थाले राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी र पूर्वाधारमा लगानी गरेकाले गर्दा यी शिक्षण संस्थाको बारेमा जानकारी दिन खोजिएको हो ।
कुन ‘कलेज’ आफ्ना निम्ति उपयुक्त हुन्छ भन्ने कुरा विद्यार्थी र अभिभावकले तुलनात्मक रूपमा कलेजको अध्ययन गर्दा पनि थाहा पाउन सक्छन् । आफूलाई पायक पर्ने क्षेत्रमा भएका राम्रा ‘कलेज’लाई छाडेर टाढाको ‘कलेज’ रोज्न खोज्दा आउने जाने झन्झटका कारण विद्यार्थीले खोजेजस्तो शैक्षिक सफलता हासिल गर्न नसकेको पाइन्छ । त्यसैले शैक्षिक संस्थाको अध्यापन विधिबारे त्यहाँ अध्ययनरत पूर्व विद्यार्थीको अनुभवबाट पनि जानकारी हासिल गर्न सकिन्छ ।
धरानः शैक्षिक गन्तव्य
नेपालमा पठनपाठन हुने अधिकाङ्श विषयकोे पढाइ हुन थालेपछि धरान राम्रो शैक्षिक गन्तव्य बन्दै गएको छ ।
धरानमा विज्ञानसँग सम्बन्धित विषय पढ्नका लागि २०३० सालमा स्थापित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार रहेको छ । यो नेपालको पहिलो केन्द्रीय प्रविधि क्याम्पस हो ।
यहाँ खाद्य प्रविधि विषयमा एमटेकसम्मको अध्ययन अध्यापन हुँदै आएको छ । क्याम्पसले विशेषतः खाद्य प्रविधिका गुणस्तरीय जनशक्ति उत्पादन गर्दै आएको छ ।
२००८ सालमा स्थापना भएको पिण्डेश्वर क्याम्पस पनि यहीँ छ । संस्कृत भाषामा पठनपाठन हुने यो कलेजमा शास्त्री र आचार्यसम्मको अध्यापन हुने गरेको छ । संस्कृतका अलावा अंग्रेजी, नेपाली, हिन्दी, नेवारी र पछिल्लो समय लिम्बू मातृभाषामा पनि अध्यापन हुँदै आएको छ ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमडी, एमबिबीएसलगायतको पठनपाठन हुन्छ । यस्तै, यहाँ २०३५ सालमा स्थापना भएको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस पनि छ । ओभरसियरमा सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, रेफ्रिजिरेशन एण्ड एयरकण्डिसन, मेकानिकल र ब्याचलरमा सिभिल र कृषि इन्जिनियरिङ अध्यापन हुन्छ । यस्तै, २०१२ सालमा स्थापना भएको महेन्द्र क्याम्पस पनि यहीँ छ । यसमा कलेज लेवलका सबै प्रकारका विषयहरु अध्ययन अध्यापन हुन्छ ।
यसैले पनि यहाँ शैक्षिक ‘हब’को रुपमा विकास हुने सम्भावना प्रशस्त देखिएको छ । यहाँका कलेजको लगातारको उत्कृष्ट नतिजाले पनि विद्यार्थीमाझ परिचित गराएको हो । अहिले निजीस्तरमा खुलेका कलेजमा विशेषतः साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट सङ्कायमा पढ्नका लागि विद्यार्थीको लर्को लाग्ने गरेको छ । निजी स्रोतमा सञ्चालित विद्यालयहरुले पनि गुणस्तरीय शिक्षाको नारा दिएसँगै यसले थप शैक्षिक गन्तव्य बनाउन भूमिका खेलेको छ ।
धरानमै निजी विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । यहाँ गुणस्तरसँगै हरेक तहलाई आवश्यक भौतिक संरचनामा गुणस्तरीयता थप्दै जाने क्रम चुलिँदो छ । धरान उच्च, युएन, नवोदय, धरान आदर्श, युरेका, विष्णु, विजयपुर, डिपोट, एम्स, सुनसरी टेक्निकल कलेज, समिट, नाष्ट कलेज, सियोनले गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा पनि निकाल्दै आएका छन् ।
यस्तै, सरकारी स्कुल पब्लिक हाइस्कुल पनि निजी सो सरहकै दाँजोमा अघि बढिरहेको छ । नतिजा, भौतिक पूर्वाधारको हिसाबले अगाडि पब्लिकले उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।
यस्तै, अहिले नयाँ कलेजहरु पनि जन्मिने क्रम रोकिएको छैन । यसै वर्षदेखि धरान मेघा कलेज पनि धरानमा थपिएको छ । यस्तै, के के इन्टरनेशनल, सुनाखरी एकेडेमी, लोटस विद्या विहारमा पनि यस वर्षदेखि कक्षा–११ सञ्चालन भइसकेको छ । ब्याचलर्स लेवलका कार्यक्रमका लागि धरान सिटी, धरान मोडल, धरान मेघालगायतका कलेज छन् ।
धरान उच्च
साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट साथै ब्यालर्स लेवलका विभिन्न कार्यक्रम (बिबिए, बिबिएस, माइक्रो बायोलोजी बिएसस्सी, सिएसआइटी लगायत) को अध्ययन अध्यापन हुँदै आएको कलेजका पूर्व प्राचार्य राजविमल श्रेष्ठ बताउँछन् । यस्तै, उच्चमा नतिजा पनि उच्च नै छ । ‘अहिलेसम्मको नतिजा हेर्दा विद्यार्थी, अभिभावक र हामी पनि सन्तुष्ट नै छौं ।’ उनी भन्छन् । यस्तै, डिग्री लेवलमा एमबिएस पनि पढाइ हुन्छ भने यस वर्षदेखि एमबिए पनि ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
युएन, नवोदय कलेज
म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा पूर्वमैै नाम कमाएको युएन, नवोदयले यसै विषयमा ‘ब्राण्ड’ पनि बनाएको छ । होटल म्यानेजमेण्टसँगै बिएचएम पनि भित्रयाएको कलेजमा होटल म्यानेजमेण्ट कहाँ पढ्ने भन्ने विषयमा विद्यार्थीलाई चिन्ता नै नहुने गरेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो बताउँछन् । ‘अहिले पूर्व झापादेखि पश्चिममा ओखलढुङ्गासम्मका विद्यार्थी यहाँ होटल म्यानेजमेण्ट र बिएचएम अध्ययनका लागि आइपुग्नु नै खुशीको कुरा हो’, उनी भन्छन्, ‘जे होस् यी विषयमा हामीले प्रदेश नं. १ टप गर्दै ब्राण्ड नै बनाएको दावी गर्छौं ।’ युएन, नवोदयमा म्यानेजमेण्ट, होटल म्यानेजमेण्टको अलवा बिबिएस, बिएचएमको पठनपाठन हुन्छ भने यस वर्षदेखि साइन्स, कम्प्युटर साइन्स साथै फुड एण्ड न्युट्रीसन विषय पठनपाठन थाल्ने उनले जानकारी दिए । यी विषयका लागि उत्कृष्ट साइन्स ल्याब रहेको कलेजको दावी छ ।
विष्णु मेमोरियल
धरानमा विष्णु मेमोरियल भनेपछि विद्यालय तहदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको स्कुल हो । कलेज लेवलमा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको विष्णुमा साइन्स, कम्प्युटर साइन्स, म्यानजमेण्ट, कम्प्युटर साइन्स अध्ययन अध्यापन हुँदै आएको छ । हिमाल खबर पत्रिकाका अनुसार वर्षेनी देशभरका ३५ सय विद्यालयहरुमध्ये उत्कृष्टमा पर्दै आएको छ । पत्रिकाका अनुसार २०७४ मा १७ औं स्थान, २०७५ मा १८ औं र २०७६ मा १६ औं स्थानमा पर्न सफल भएको प्रिन्सिपल निलम श्रेष्ठ बताउँछन् । ‘देशभरकै ३५ सय प्लस टु अर्थात् कलेजमध्ये यतिका स्थानमा पर्नु साथै उत्कृष्ट नतिजा नै हाम्रो गर्व गर्ने आधार हुन्’, उनी भन्छन्, ‘अभिभावक र विद्यार्थी नै सन्तुष्ट हुनुहुन्छ ।’
धरान आदर्श
धरान आदर्श उत्कृष्टतासँगै बढी विद्यार्थी उत्तीर्ण गराउने कलेजमध्येको एक हो । कलेजमा साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्स, एजुकेशन, ह्युम्यानिटीलगायतका विषय अध्ययन अध्यापन हुने कलेजका एकेडेमिक डाइरेक्टर मोहन पोख्रेलले जानकारी दिए ।
साइन्स कोअर्डिनेटर सोभित यादवका अनुसार यसै वर्ष पहिलो चरणको प्रवेश परीक्षामा ४७१ जना विद्यार्थीले सहभागिता जनाएका थिए । उनले यसअघि कलेजले धेरै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदै आएको बताए । ‘खासमा अहिलेसम्मको नतिजा सन्तोषजनक छ’, उनले भने, ‘यसकारण अभिभावक र विद्यार्थीले धरान आदर्श रोजिरहेका छन् ।’
एम्स एकेडेमी
उत्कृष्ट नतिजा ल्याउने कलेजमध्ये एम्स एकेडेमी पनि एक हो । साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्स, एजुकेशन, ह्युम्यानिटी साथै यस वर्षदेखि मास कम्प्युनिकेशन विषयको पनि अध्ययन अध्यापन थालेको छ । कलेजका प्रिन्सिपल मित्र तामाङले कलेजको उत्कृष्ट नतिजाकै कारण अभिभावक र विद्यार्थीले पत्याउने ठाउँ रहेको बताउँछन् । ‘हाम्रा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन थालेपछि अभिभावक, विद्यार्थीले पनि पत्याउँदै गएका हुन् ।’ उनले भने । उनले साइन्सको छुट्टै भवन समेत रहेको जानकारी दिए ।
धरान मेघा कलेज
धरान मेघा हिमालयन कलेजले फुड एण्ड न्युट्रीसन, साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेण्ट र होटल म्यानेजमेण्ट अध्ययन अध्यापन गराउने गरेको छ ।
नाष्ट कलेज
धरानको नाष्ट कलेजमा डिप्लोमा इन फुड एण्ड डेरी, फुड एण्ड न्युट्रीसन, साइन्स, कम्प्युटर साइन्सको अध्ययन अध्यापन हुँदै आएको छ । प्रिन्सिपल टोमप्रसाद आचार्यले कलेजमा डिप्लोमा इन फुड एण्ड डेरी विषयको अध्ययन सकेपछि कलेजले नै जागिरको प्रबन्ध गर्दै आएको दावी गर्छन् । कलेजका सहायक प्रिन्सिपल सूर्य रिजालले फुण्ड एण्ड डेरी पढेपछि जागिर हातैमा रहेको बताउँछन् । ‘यो तीन वर्षे कोर्ष हुन्छ, यसमा ओजीटी पनि गर्नुपर्ने हुन्छ, ओजीटीपछि फिक्स जागिर ।’ उनी भन्छन् ।
समिट मावि
धरानकै समिट स्कुलले धरानमा पहिलोपल्ट होटल म्यानेजमेण्ट विषय भित्रयाएको थियो । अहिले होटल म्यानेजमेण्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरिजम विषय अध्ययन अध्यापन हुँदै आएको कलेजका प्राचार्य रमेश दाहाल बताउँछन् । समिटले पनि उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।
अन्यले कुन विषय अध्ययन अध्यापन गराउँछन् ?
युरेकामा साइन्स, कम्प्युटर साइन्स र म्यानेजमेण्ट अध्ययन अध्यापन हुन्छ । यस्तै, डिपोटमा साइन्स र म्यानेजमेण्ट पढाइ हुन्छ । सियोनले साइन्स, कम्प्युटर साइन्स र म्यानेजमेण्ट पढाउँदै आएको छ । यस्तै, धरानकै विजयपुर माविले साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, एजुकेशनमा अध्यापन गराउँदै आएको छ । यस्तै, के के इन्टरनेशनल स्कुलले साइन्स, म्यानेजमेण्ट अध्ययन अध्यापन थाल्ने जनाएको छ । लोटस विद्या विहारले पनि कक्षा–११ सञ्चालन गर्ने जनाएको छ । त्यहाँ म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट पठनपाठन हुन्छ ।
यस्तै, सुनसरी टेक्निकल कलेजमा प्राविधिक धारका विषयहरु अध्ययन अध्यापन हुन्छ । सुनसरी टेक्निकल कलेज प्राविधिक शिक्षाका लागि अग्रणी मानिदै आएको छ । नतिजाको हिसाबले यी कलेजको पनि नतिजा उत्कृष्ट नै रहँदै आएको छ ।
सुनाखरीले यस वर्षदेखि म्यानेजमेण्टमा अध्ययन अध्यापन थालेको हो । धरान उच्चका पूर्व प्राचार्य राजविमल श्रेष्ठ धरानमा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि विद्यार्थीहरु राजधानी गइरहनुपर्ने साथै विदेशिनुपर्ने बाध्यता टरेको बताउँछन् । ‘हरेक कलेजमा विकाऊको विषय साथै गुणस्तरीय शिक्षा पनि प्रदान गर्दै आएका छन्, त्यसैले पनि धरान शैक्षिक गन्तव्य बन्न सहयोग पुगेको छ’, उनले भने ।
धरान शैक्षिक गन्तव्य बन्दै गएको हिसानका नेत्र सुवेदी बताउँछन् । ‘सीमित कलेज, स्कुलले सीमित शैक्षिक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीले गुणस्तरीय शैक्षिक कार्यक्रम छनोट गर्न नपाएर विदेश कि काठमाडौं जानुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले शिक्षामा लगानी बढेसँगै साथै उत्कृष्ट नतिजा निकाल्दै जानुले धरान शैक्षिक गन्तव्य बन्दै गएको छ ।’

प्रकाशित मिति: साउन २२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend