धरानः धरानमा जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भित्रयाएकामा प्रहरीले नवदम्पत्तिलाई नियन्त्रणमा लिएको छ ।
धरान-६ पानबारीका ईश्वरमान लिम्बूले श्रीमती हुँदाहुँदै स्थानीय युवतीलाई भित्रयाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
करिब ८ वर्षअघि पाँचथरकी विपना (नाम परिवर्तन) सँग विवाह गरेका उनले सपना माइत गएको बेला कान्छी भित्रयाएको पाइएको प्रहरीले जनाएको छ । उनलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
उनकी श्रीमती सपनाले केहीदिनअघि मात्रै कान्छी भित्रयाएको चाल पाएपछि घरमै पुगेकी थिइन् । प्रहरी र स्थानीयबासीसँगै पुगेकी विपनाले ईश्वरमानलाई कोठामै कान्छी श्रीमतीसँग भेटेकी थिइन् ।
जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
ईश्वरमानको जेठीपट्टिको एकजना छोरा रहेका छन् । घरमा हिंसा सहन नसकेर आफू केही समयअघि माइत पुगेको तर यता कान्छी भित्र्याएको विपनाले बताएकी छिन् ।