धरानः जन गायक जेबी टुहुरेको स्मृति दिवसमा धरानमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
जेवी टुहुरेको स्मृति दिवसको अवसर पारेर आगामी भदौं १० गते धरानको भानुचोकमा विशाल सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हो ।
जेवी टुहुरे फाउण्डेशनको आयोजना गर्न लागिएको जेवी टुहरे स्मृति संध्या तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरी जेवी टुहुरेको सम्झनामा विशाल सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिएकी छिन् । उनका अनुसार भानुचोकमा दर्जन बढी कलाकारहरुले टुहुरेका दर्जन बढी गीत गाउने छन् । फाउण्डेशनले धरानमा पत्रकार सम्मेलन गरी कार्यक्रमको वारेमा जानकारी गराएको छ ।
२००१ साल भदौ १० गते धरानको पुरानो बजारमा जन्मिएका टुहुरेको जन्मदिन पारेर धरानमा विशाल सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको फाउण्ेशनका सदस्य राजेश थापाले बताए । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि खड्गी समाज धरान र धरान संगित प्रतिष्ठानले संयोजनको भूमिका निर्वाह गरेका छन् । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आमा दिदी बैनी हो, कति बस्छौ दासी भई, दुःखसँगै व्यासी बनेर गायको गीत चर्चामा आएको थियो ।
कार्यक्रममा वरिष्ठ गायकहरु दीप श्रेष्ठ, शम्भु राई, जीवन शर्मा, नन्दकिशोर जोशी, चेतन सापकोटा, प्रश्ना शाक्य, बाबु बोगटी, रुपक डोटेल, भीषण मुकारुङ, प्रदेश लिम्बू, साजन राई, आकाश थापा, दुर्गा परियार, हर्षु राई, गंगा राई, सविन लिम्बू, जितेन्द्र चौधरी, कृष्णराजा श्रोष्ठ, प्रशान्त शर्मा, सञ्जय तुम्रोक, सुवोद गौतमलगायतले आफ्नो प्रस्तुति पस्कने फाउण्डेशनका सल्लाहकार चोत्लुङ लिम्बूले जानकारी दिएका छन् । टुहरे धरानमा जन्मिएकाले उनको सम्झनामा धरानमा कार्यक्रमको आयोजना गरिएको बताए । कलाकारहरुले टुहरेका गीत गाउनुका साथै अन्य गीतहरु प्रस्तुत गर्नेछन् । जन गायक टुहुरेको सम्मानमा धरानमा विशाल सांस्कृतिक कार्यक्रम आयोजना गरिनुले उनीप्रति सम्म्मान हुने भाषविद् प्रा.डा टंक न्यौपानेले बताए ।
कार्यक्रममा टुहुरेका सांस्कृतिक योगदानवारे प्रकाश पार्ने, टुहरेका वर्गीय मुक्ति आन्दोलनका गीतहरुलाई नयाँ पुस्तामाझ परिचित गराउने, जनपक्षीय सांस्कृतिक आन्दोलनमा समर्पित कलाकारहरुको हौसला प्रदान गर्नका लागि धरानमा कार्यक्रमको आयोजना गरिएको फाउण्डेशनकी अध्यक्ष टुहुरेले बताइन् ।