धरानः हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पिपल्स सप लायन्स तिज उत्सव सिजन २ धरानमा हुने भएको छ ।
पिपल्स सप र धरानका लायन्स क्लबको संयुक्त आयोजनामा यही भाद्र ९ गते एकदिने उत्सवको आयोजना गर्न लागिरहेको आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
पहिलो संस्करणपछि कोरोना महामारीको कारण दुई वर्ष रोकिएको उत्सवलाई निरन्तरता दिनको लागि तीज उत्सवको आयोजना गर्न लागिएको पिपल्स सपका प्रोप्राइटर एवं एरिया चिफ लायन कविता लिम्बूले जानकारी दिइन् । पहिलो संस्करण पिपल्स सपको एकल आयोजना रहेपनि दोस्रो संस्करण धरानका लायन्स क्लबहरुको संयुक्त आयोजनामा गर्न लागिरहेको आयोजकले जानकारी दिएको छ ।
विशेषगरी महिला लक्षित उत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसँगै उपस्थितहरुमध्येबाट मिस एण्ड मिसेज तीज उपाधि समेत प्रदान गरिनेछ । उपाधि बिजेतालाई क्राउन र गिप्mट ह्यापर प्रदान गरिने कार्यक्रमका संयोजक शिखा लिम्बूले जानकारी दिइन् । यसैगरी सहभागीहरुबाट नै मिस एण्ड मिसेस क्याटवक, वेस्ट ड्रेस, वेस्ट मेकअप, वेस्ट हेयर, वेस्ट गु्रप डान्स, सोलो डान्सलगायत उपाधि प्रदान गरिने संयोजक लिम्बूले जानकारी दिए । उनीहरुले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
धरान–१५ स्थित किरात याक्थुम चुम्लुङ हिमको हलमा आयोजना हुने उत्सवमा मौलिक परिकार र सामग्रीहरुको स्टल समेत हुनेछ । स्टलमा मेहन्दी, नेलआर्ट, फुड स्टल, घरेलु सामग्री, सौदर्य सामग्री लगायत बिक्रीका लागि राखिनेछ । उत्सवको दिन लायन्स क्लब अफ पञ्चकन्याले शिक्षाको लागि एक रुपैयाँ रकम संकलन अभियानको घोषणा समेत गरिने लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराइन् । एक करोड रुपैयाँ संकलनको लक्ष्यसहित अभियान सुरु गरिने उनले बताए ।
उत्सवबाट उठेको रकमले काठमाण्डौमा उपचार्थ क्यान्सरपीडित युमारानी लिम्बूलाई करिब १० हजार रुपैयाँ सहयोग गरिने एरिया चिफ लायन कविता लिम्बूले बताइन् । पत्रकार सम्मेलनमा रिजन चियर पर्सन लायन रुक्मणी मास्के, जोन चियर पर्सन लायन कमला लिम्बू, कृति श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।