अब धरानमा प्रत्येक शुक्रबार गुञ्जिनेछ मादल र बाँसुरीको धुन
धरानः धरानका मेयर हर्कराज राई साम्पाङलाई मादल उपहार दिइएको छ ।
स्वतन्त्र नागरिक समाजका तर्कराज मगरले मेयर साम्पाङलाई मादल उपहार दिएका हुन् । सो मादल र बाँसुरी प्रत्येक शुक्रबार बजाइने मेयर साम्पाङले जानकारी दिएका छन् । उनले प्रत्येक शुक्रबार लागूऔषधविरुद्धको जनचेतनामूलक अभियान चलिरहेको र सो मादल र बाँसुरी पनि सोही अभियानका क्रममा बजाइने बताए । ‘यसअघिको जनचेतनामूलक कार्यक्रम नाचगानसहितको कार्यक्रम हुने गरेको थियो तर तालीकै भरमा कार्यक्रम हुने गरेको थियो, अब तालीसहित मादल र बाँसुरी पनि बज्नेछ ।’ उनले धरानमा लोकबाजाहरुको संरक्षण जरुरी रहेको ठानेको समेत बताएका छन् ।
यो मादल आउँदो शुक्रबार ५ बजे धरानस्थित बगरकोटमा आयोजना हुने लागूऔषधविरुद्धको अभियानका क्रममा बजाइने भएको छ ।
यस्तै, धरान–७ अनिष सुनारले बाँसुरीको धुन थप्ने मेयर साम्पाङले जानकारी दिएका छन् । मेयर साम्पाङलाई बाँसुरी बोकेर धरान उपमहानगरपालिकाको कार्यालयमा भेट्न पुगेका उनले सो बाँसुरीको धुन बजाएर मेयर साम्पाङको अभियानमा साथ दिने बताएका छन् ।