धरानः धरानस्थित बगरकोटमा शुक्रबार ५ बजे फरक किसिमको कार्यक्रम आयोजना भयो । मेयर साम्पाङको आह्वानमा आयोजित अभियानमा आइपुगेका धरानबासी मादलको ताल र बाँसुरीको धुनमा धक फुकाएर नाचे, गीत गाए ।
मेयर हर्कराज राई साम्पाङको आह्वानमा प्रत्येक शुक्रबार चलिरहेको लागूऔषधविरुद्धको अभियानका क्रममा बगरकोटमा कार्यक्रम आयोजना भएको थियो । केहीदिनअघि मेयर साम्पाङले मादल उपहार पाएका थिए । सो मादल र बाँसुरी प्रत्येक शुक्रबार बजाएर जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको जनाइएको थियो ।
कार्यक्रममा तिर्थ कार्की, प्रफुल्ल भण्डारीले लागूऔषधविरुद्धको गीत र कविता सुनाए भने स्वतन्त्र नागरिक समाजका प्रवक्ता समिर तामाङले मुक्तक सुनाए । अभियानमा सहभागिता जनाउन तीनवटा गाडीमा आइपुगेका धरानस्थित के के इन्टरनेशनल स्कुलका विद्यार्थीले केही सन्देशमूलक कुराहरु सुनाए ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले धरान उपमहानगरपालिकाले हरेक शुक्रबार पठनपाठन सकिएपछि सचेतना कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई अनुरोध गरिएको जानकारी दिए ।
धरानमा लागूपदार्थ दुव्र्यसन र सवारी दुर्घटना बढ्दो मात्रामा रहेकोले कक्षा–८ देखि १२ सम्मका विद्यार्थीलाई हरेक शुक्रबार पठनपाठन सकिएपछि कम्तीमा एकघण्टा यसबारेमा सचेतना कार्यक्रम सञ्चालन गराउन अनुरोध गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा धरान–७ अनिष सुनारले बाँसुरीको धुनले मन्त्रमुग्ध मात्रै पारेनन् नचाए पनि ।











