धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिबिएस दोश्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले शनिबार स्वागत गरेका छन् ।
धरान-१९ स्थित ब्रिटिस कम्युनिटी हलमा एक कार्यक्रमका बीच प्रथम वर्षका विद्यार्थीहरुलाई दोश्रो वर्षका विद्यार्थीहरुले अविर र खदा लगाएर स्वागत गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.टंकप्रसाद न्यौपानेले अहिलेको आधुनिक प्रविधिका कारण विश्व एउटा घर जस्तो भइसकेको हुनाले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु अपरिहार्य रहेको बताए ।
प्रिन्सिपल भास्कर पौडेलले धरान मेघा कलेजले छोटो समयमा नै शैक्षिक क्षेत्रमा सफलता हासिल गरेकोले यहाँसम्म आइपुग्न सहयोग पुरयाउने सबैलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रममा बिबिएस प्रथम र दोश्रो वर्षमा अध्ययनरत प्रतिभावान विद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरे ।

यसरी नृत्य र गीत प्रस्तुत भइरहँदा कार्यक्रममा उपस्थित अन्य विद्यार्थीहरुले समेत नाचेर साथ दिएका थिए । बिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत गरी उनीहरुभित्र रहेका विभिन्न प्रतिभाहरुलाई उजागर गर्न सही मञ्च प्रदान गर्ने उद्देश्यले स्वागत कार्यक्रम आयोजना गरिएको कलेजका ब्यवस्थापन संयोजक चन्द्र वनेमले जानकारी दिए ।
कार्यक्रममा कलेजका प्रशासकीय निर्देशक कैलाश लिम्बू, होटल म्यानेजमेन्ट विभागका प्रमुख पोषण श्रेष्ठ, बोर्ड सदस्यहरु सागर खड्का, प्रभाष राजवंशी, सूर्य अधिकारी, दीपक घिमिरे, प्रेम राई, विकास चाम्लिङलगायतको उपस्थिति रहेको थियो । बिबिएस दोश्रो वर्षकी छात्रा सपना राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कलेजकै छात्रा आरती बस्नेतले गरेकी थिइन् ।