धरानः जनता समाजवादी पार्टी सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रीय समितिले आगामी मंसिरमा हुन गैरहेको संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताब गरेको छ ।
जनता समाजवादी पार्टी क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले आगामी चुनावका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि उम्मेदवारको नाम प्रस्ताव गरिएको जनता समाजवादी पार्टीका धरान उपमहानगर समिति उपाध्यक्ष हेमराज जिमी याक्खाले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ अशोक राईको नाम प्रस्ताव गरिएको छ । त्यसैगरी विकल्पमा दीपक मेयाङ्बो र भीम राईको नाम पनि प्रत्यक्षतर्फ सुनसरी १ बाट प्रस्ताव गरिएका छन ।
सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्र (१) बाट प्रदेश सदस्यका लागि प्रत्यक्षतर्फ नगेन्द्र लिम्बू, सुमित्रा राई र कृष्ण लिम्बूको नाम प्रस्ताव गरिएको छ । त्यसैगरी समानुपातिकतर्फ दुर्गामाया लिम्बू, दीपक मेन्याङ्बो, भीम राई, नरेश विक, बलबहादुर मगर (क्षितिज) को नाम प्रस्ताव गरिएको छ ।
त्यसैगरी प्रदेश तर्फ सुनसरी १ नम्बर क्षेत्रको (२) बाट प्रत्यक्ष उम्मेदवारतर्फ सन्देश राई, लिला राई, मोहन राई, प्रदीप कार्की, हेमराज याक्खाको नाम प्रस्ताव गरिएको छ । समानुपातिकतर्फ बिना पुमा राई, एसा सुनुवार, शशीकुमार विक, बिपिन इवारम, तेन्जिङ शेर्पा, गोविन्दप्रसाद राई, मणि राई, सीता राईको नाम प्रस्ताव गरिएको छ ।
अशोक राईको नाम यसअघि खोटाङ जिल्लाबाट समेत प्रस्ताव भइसकेको छ । अघिल्लो चुनाबमा अशोक राईले सुनसरी १ बाट नै उम्मेदवारी दिएका थिए । अहिले भने देशभरमा पाँच दलीय गठबन्धन अगाडि बढिरहेको छ । अशोक राईले केही अगाडि धरान आएर पत्रकार सम्मेलन गर्दै सुनसरी १ बाट उम्मेदवारी हुने छनक दिएका थिए । तर गठबन्धनका कारण अझैसम्म उम्मेदवार बारे टुंगो लागिसकेको छैन । यसअघि आफ्नै चेलासँग २२ हजार मतले पराजित भएका थिए । संघीय समाजवादीका राई सुनसरी १ मा आफैले राजनीतिमा प्रवेश गराएका चेला जयकुमार राईसँग पराजित भएका थिए । कुनै समय एमालेका नेता रहेका अशोक अहिले एमालेका उम्मेदवार जयकुमारसँग पराजित भएका हुन् ।