धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आफूले सत्य बोल्दा गालीगौलजमा उत्रिएको बताएका छन् ।
धरान–१५ स्थित विशाल चौकमा आयोजित लागूऔषधविरुद्धको अभियानका क्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘गीत गाउने क्रममा धेरै कुरा उठेका छन्’, उनले भने, ‘एउटा कुरा के उठ्यो भने हाम्रो धरानको मेयर के साह्रो बोलेको भन्ने, म तपाईहरुलाई के जानकारी गराऔं भने हर्क साम्पाङ अभियन्ता हो, अरुभन्दा म धेरै कुरामा फरक छु, अरु भनेको बोल्दैनन्, काम पनि गर्दैनन् । म कुनै पनि विषयवस्तु उठान गर्छु, सामाजिक रुपमा बहस हुन्छ । बहसको क्रममा जब मान्छे तर्कसँग हार्दै जान्छ र गालीगौलजमा उत्रिन्छ । खासमा भएको यति मात्रै हो ।’
उनले काठमाडौं गएर फर्किएपछि आफूमाथि गालीगौलज भइरहेको बताए । ‘काठमाडौं गएर सडकको किनारमा फोहोर देखेपछि फोहोरबारे केही टिप्पणी गरें, त्यो सत्य नै थियो तर सत्य बोल्दा गालीगौलजसम्म पुग्यो ।’ उनले सही र तार्किक कुरा गर्दा शत्रु बन्दै गएको समेत बताए ।
उनले परम्परागत तरिका आफूले नअपनाउने समेत बताए । ‘परम्परागत तरिकाचाहिँ के छ भने चुप लागेर बस्ने तर म बस्दिनँ, केही न केही गर्नुपर्छ भन्छु । अरु र म मा यही कुराचाहिँ फरक छ, त्यही भएर म विवादमा तानिएको हो ।’
यसअघिका कसैले पनि सूचना नदिएको र सबै कुराको जानकारी फेसबुकमार्फत् दिँदै आएको समेत मेयर साम्पाङले बताए । उनले राजनीतिमा विरोध नहुने भन्ने नहुने तर्क समेत गरे । ‘राजनीति भनेको विरोधै विरोधले भरिएको हुन्छ, राजनीतिमा विरोध नहुने भन्ने हुँदैन, सबैको विरोधी हुन्छ, त्यसले गर्दा स्वभाविक मेरो पनि विरोधी छन् । उनीहरुले तर्कमा हारेर मलाई विरोध गरिरहेका छन् ।’
आफू आफ्नो विचारमा प्रष्ट रहेको समेत मेयर साम्पाङ बताए । उनले आफू सत्य कुरा बोलिरहने समेत प्रष्टयाए । ‘मलाई अनेकथरीको लान्छना लगाउने, ग्रिन टी खायो बियर खायो भन्छन्, फोहोरलाई फोहोरको रास भने फेरि गाली गरे । यी सबै कुराचाहिँ के हो भने तपाई हामीले गर्दै गरेको कामदेखि इष्र्या गर्नेहरुको हो तर म सत्यकुरा बोलिरहन्छु ।’ ७५३ वटा पालिकामध्ये धरानमा सबैभन्दा बढी काम भएको उनको दावी छ ।
उनले आफूलाई खोला मात्रै धाउने आरोप समेत आउने गरेको बताए । उनले ठेक्का नलगाइकन आफूहरुले चार ठाउँको पानी मुहानबाट १० इन्चको पाइपमा पानी खसाल्न लागेको बताए । उनले एक रुपैयाँ नचलाइकन पानी ल्याउन लागेको बताए । उनले धरानमा खानेपानीका लागि दुई अर्ब ऋण ल्याएको तर पनि पानीको समस्या ज्युँका त्युँ रहेकोले आफू पानीकै लागि कुदिरहेको बताए । उनले धरान–१५ का लागि जनश्रमदानबाटै शिवजट्टाबाट पानी तानेर ल्याएर खुवाइने बताए । उनले कोशीबाट पानी ल्याउने पहल समेत भइरहेको जनतामाझ भने । ‘पानी ल्याउनका लागि कोसँग फाइट पर्नुपर्ने हो, पर्छु, मन्त्रालय नै बन्द गर्नुपरे पनि तयार छु ।’
लागूऔषधविरुद्धको अभियान चलाइरहँदा यसले के हुन्छ र ? भन्ने खालका मानिसहरुको झुन्ड पनि निस्किन थालेको मेयर साम्पाङको भनाइ छ । उनले परिणाम आएपछि सबै कुरा थाहा हुने स्पष्ट पारे ।
कार्यक्रममा धरानका शिक्षक ओमनाथ रिमालले लागूऔषधविरुद्धको गीत गाउने क्रममा गीतमार्फत् नै स्टाटस कम लेख्न सुझाएका थिए । उनले धरानमा खाल्डाखुल्डी सडक रहेको र टाल्न समेत भनेका थिए । कार्यक्रममा प्रफुल्ल भण्डारीले महिला र पुरुषको स्वर निकाल्दै गीत पस्किएका थिए ।