Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङलाई जनताको निरन्तर साथ

हाम्रो कोशी आवाज
भाद्र १८ २०७९, शनिबार
धरानका मेयर साम्पाङलाई जनताको निरन्तर साथ

धरानः श्रममा विश्वास गर्दै अघि बढेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलाई जनताले पनि निरन्तर साथ दिँदै आएका छन् ।
अफिसको समयमा फुर्सद निकालेर श्रमदानमै खटिँदै आएका मेयर साम्पाङप्रतिको विश्वास बढ्दै गएको छ । पाइप बोक्दै, ढुङ्गा, गिटी, बालुवा बोक्दै जनतासँगै श्रमदानमा खटिरहने उनलाई जनताले पनि साथ दिँदै गएका हुन् ।
सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेका साम्पाङलाई शनिबार जनताले साथ नदिन सक्छन् भनेर लख काट्नेहरु धेरै थिए तर यो शनिबार पनि उनले जनतासँगै वृक्षारोपण र श्रमदानमा खटे । यसले पनि उनलाई जनताले निरन्तर साथ दिँदै गएको पुष्टि गर्छ ।
मेयर साम्पाङ धरानेलाई जसरी पनि पानी खुवाउने भन्दै खोलाखोल्सी चहारिरहेका छन् । कोशीको पानी ल्याएर खुवाउने मुख्य एजेन्डाले चुनाव जितेका उनले केही वर्षका लागि धरानमा रहेका पुराना संरचना मर्मत गर्दै नयाँ स्रोत भेटिए त्यहाँबाट पनि पानी ल्याउन कम्मर कसेर लागेका छन् । उनी आफैं पाइप तान्न अप्ठ्यारो भीरमा चढ्दै आएका छन् ।
पकुवाबाट एक पाइप पानी ल्याएर देखाइसकेका उनी निशाने, सर्दु र खर्दुको पानीलाई एकैठाउँ जम्मा गरेर धरानको स्वस्तिका चौकस्थित खानेपानीको ट्याङ्कीमा पानी खसाल्ने तयारीमा छन् । त्यसको लागि करिब २ लाख लिटर माथिको ट्याङ्की बनाउन गोर्खा पिस फाउन्डेसन युके लागिपरेको छ । फाउन्डेशनका सुपरभाइजर ललितचन्द्र राईले २ लाख १० हजार लिटर क्षमताको ट्याङ्की बनिसकेपछि उपमहानगरपालिकालाई हस्तान्तरण गरिने बताए । ५५ लाख ९० हजार २ सय ३३ रुपैयाँ फाउन्डेशन र ७ लाख ४७ हजार ७ सय रुपैयाँको जनश्रमदानमा सो ट्याङ्की निर्माण हुन लागेको हो ।
सो ट्याङ्की बनाउन र तीनवटा खोलाको पानी जम्मा गर्न हालसम्म हजारौंले श्रमदान पनि गरिसकेका छन् । मेयर साम्पाङ आफै पनि कहिले कार्यालयको काम सकेर होस् वा विदाको जुनसुकै दिनमा पनि उनी श्रमदान गर्न पुगिहाल्छन् ।
असारको पहिलो साताबाट प्रत्येक शनिबार खोलाखोल्सीमै रहने भन्दै उनी लागिपरेपछि केही आलोचना पनि खेप्दै अघि बढिरहेका छन् । जति आलोचना आएपनि उनी कहिल्यै पछि नहट्ने बताउँछन् । ‘जोसुकैले जेसुकै भनुन म आफ्नो काम गरिरहन्छु, म आफ्नो भिजन र मिसनमा अडिग छु ।’
पानीमा भिज्दै श्रमदान र वृक्षारोपण
शनिबार पानीमा भिज्दै भएपनि जनताले श्रमदान र वृक्षारोपण गरेका छन् । श्रमदान र वृक्षारोपणका लागि झापाका विद्यार्थी, झापाबासी, मोरङका विभिन्न स्थान र तरहरासम्मका जनता आइपुगेका थिए । बिहानको समयमा धरानका केही स्कुलका विद्यार्थीले पनि मुसलधारे पानीका बीचमा वृक्षारोपण गरेका थिए । उनको कामलाई स्थानीय युवापुस्तादेखि वृद्धवृद्धासमेतले स्वतस्फुर्त पुगेर साथ दिँदै आएका छन् ।
धरानको सर्दुखोला छेऊमा हजारौं थरीथरीका विरुवा रोपिएको छ । फलफूल (कागती, काँक्रा, निबुवा, अमला, अम्बक, मखमली, सयपत्री, रुद्राक्ष), लगायत अन्य जातका विरुवा रोपिएको हो । कार्यक्रममा उपस्थित मेयर साम्पाङले धराने जनताले पानीकै लागि वृक्षारोपण गरिरहेको बताए । ‘हामी अहिले जति पनि विरुवा रोपिरहेका छौं, पानीको स्रोत र मुहान नसुकोस् भनेर नै हो’, उनले भने ।

पानीमै निरन्तर
सर्दु, खर्दु र निशानेलगायत जलाधार क्षेत्रको संरक्षण गर्दै उनी त्यहाँको पानी जम्मा गरेर धरानबासीलाई हिउँदको समयमा खुवाउने योजनामा छन् ।
‘यो टयाङ्कीमा जम्मा गरेको पानीचाहिँ हिउँदमा खुवाउने हो’, उनले भने, ‘यहाँ करिब दुई लाख लिटरको ट्याङ्की गोर्खा पिस फाउण्डेशन नामक संस्थाले बनाइदिने हो, यसले नपुगे बानियाँटारमा ठूलो जलकुण्ड निर्माण गर्नेछौं, त्यसको लागि कार्यपालिकाबाट निर्णयसमेत भइसकेको छ, त्यसपछि क्रमैसँगै कोशीको पानी धरानमा ल्याउने हो ।’ कोशीको पानी ल्याउन सम्भाव्यता अध्ययनमा जुटिरहेको उनको भनाइ छ ।

मेयर साम्पाङबारे गीत लेख्नेलाई भेट्दा…
मेयर साम्पाङबारे गीत लेख्ने लेखक आलोक चाम्लिङ राईले पनि शनिबार मेयर साम्पाङलाई भेटेका छन् ।
सर्दुखोलास्थित श्रमदानस्थलमा मेयर साम्पाङललाई लेखकले भेटेका हुन् । मेयर साम्पाङले आफ्नो काम देखेर प्रेरणदायी गीत बनाएको भन्दै गीत किन लेख्नुभयो भनेर प्रश्नसमेत गरेका थिए । जवाफमा लेखक चाम्लिङले आफू देशलाई माया गर्ने मान्छे भएकोले यस्तो गीत फुरेको धारणा राखे ।
उनले गीतले आफूलाई उर्जा प्रदान गरेको समेत बताए । ‘मेरा पनि अन्धकार पक्ष होलान्, सबै मान्छेको कमीकमजोरी हुन्छन्, कमीकमजोरीको पाटोलाई म हेर्दिनँ, मैले नराम्रो काम गरेंभने (हर्कले भ्रष्टाचार गरयो, विकृति फैलायो आदि) मेरो विरुद्धमा पनि गीत आउनुपर्छ’ उनले थपे, ‘कमेडीमा मात्रै विरोध हुँदैन, म कमेडियन होइन, विरोध जारी राख्नुहोस्, म मेरो काम जारी राख्छु, अन्त्यमा हेरौं जीत कसको हुन्छ ।’

रक्तदान कार्यक्रम पनि
यसैबीच शनिबार रक्तदान कार्यक्रम पनि आयोजना भएको छ । रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत सङ्कलन भएको स्वतन्त्र नागरिक समाजका प्रवक्ता समीर तामाङले जानकारी दिए । बीपी पार्क छेऊमा आयोजना गरिएको रक्तदान कार्यक्रमको आयोजना सचेत धराने समूहले गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend