धरानः धरानका मेयर हर्कराज राई साम्पाङ अहिले पनि अभियानमै छन् । उनी लागूऔषधविरुद्धको अभियान लिएर चोकचोक, गल्लीगल्ली चहारिरहेका छन् ।
धरानमा लागूऔषध दुव्र्यसनकै कारण समाज बिग्रिँदै गएको र झैझगडा, काटमार, छुरा हानाहान, धारिलो हतियार प्रहारको घटना बढेको बताउँदै उनले अभियानलाई निरन्तरता दिइरहेका छन् ।
लागूऔषध दुव्र्यसन एउटा रोग नै भएको बताउँदै उनले धरानलाई लागूऔषधमुक्त बनाउन अभियान लिएर चोकचोक, गल्लीगल्ली चहारिरहने बताएका छन् । सामाजिक विकृति, बिसङ्गतिविरुद्ध सडक प्रदर्शन भइरहेको र यसलाई आफू मेयर रहुञ्जेल र मेयर नभएपनि अभियान चलाइरहने बताए । ‘यो एउटा रोग नै हो, यसलाई न्युनीकरणका लागि म मेयर भएपनि नभएपनि चोकचोक, गल्ली गल्ली कुदिरहेको नै हुन्छ ।’
धरान–१६ स्थित जोरसखुवा चोक छेऊमा केही समयअघि धारिलो हतियार प्रहार हुँदा तीनजना घाइते भएका थिए । त्यहाँका स्थानीयले लागूऔषध सेवनकर्ताका कारण झगडा हुने गरेको गुनासो गर्दै आएका छन् । शुक्रबार साँझ जोरसखुवा चोकमा लागूऔषधविरुद्धको अभियान चलाइएको छ ।
मेयर साम्पाङले लागूऔषध बेचविखन र सेवनकर्ता कहीँकतै भेटे जानकारी दिन समेत आग्रह गरे । ‘लागूऔषध कहीँकतै बेचविखन भइरहेको छ भने तपाईहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ’, उनले भने ।
मेयर साम्पाङको अभियानलाई कलिला बालबालिकादेखि वृद्धवृद्धासम्मले पनि साथ दिएका थिए । कार्यक्रममा प्रदेश १ भरीमा ५ सय ९२ जना महिला र २ हजार सात सय १३ जना पुरुष लागूऔषध दुव्र्यसनमा फँसेको तथ्याङ्क समेत प्रस्तुत गरिएको थियो ।
प्रफुल्ल भण्डारीले लागूऔषधविरुद्धको गीत पस्केका थिए । कार्यक्रममा अनिष सुनारले बाँसुरीको धुन पनि सुनाएका थिए । कार्यक्रममा बोल्दै मेयर साम्पाङले धरान उपमहानगरपालिकाले हरेक शुक्रबार पठनपाठन सकिएपछि सचेतना कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई अनुरोध गरिएको जानकारी दिए । धरानमा लागूपदार्थ दुव्र्यसन र सवारी दुर्घटना बढ्दो मात्रामा रहेकोले कक्षा–८ देखि १२ सम्मका विद्यार्थीलाई हरेक शुक्रबार पठनपाठन सकिएपछि कम्तीमा एकघण्टा यसबारेमा सचेतना कार्यक्रम सञ्चालन गराउन अनुरोध गरिएको उनले जानकारी दिए ।
प्रहरी बिट स्थापना गर्न माग
स्थानीय किसन श्रेष्ठले धरान–१६ को जोरसखुवा क्षेत्र लागूऔषध प्रयोगकर्ता र प्रयोग भइरहने क्षेत्र भएकोले प्रहरी बिट राख्न माग गरेका छन् । सो क्षेत्रमा लागूऔषध प्रयोगकर्ता बढेको हुनाले प्रहरी बिट अनिवार्य भएको बताए । यसअघि पनि धरान–१६ मा अनिवार्य प्रहरी बिट राख्न स्थानीयले माग गर्दै आएका छन् ।



