Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जसले भानुचोकको सडकमै उम्मेदवारी घोषणा गरे

हाम्रो कोशी आवाज
भाद्र ३० २०७९, बिहिबार
धरानमा जसले भानुचोकको सडकमै उम्मेदवारी घोषणा गरे

धरानः सुनसरी क्षेत्र नं. १ बाट कुमार कार्कीले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार धरानको भानुचोकस्थित घण्टाघर छेऊ सडकमा उम्मेदवारी घोषणा कार्यक्रम आयोजना भएको थियो । सुकुम्बासी जनताबीच उपस्थित उनले धरानबासीको मत पाएर धरानको विकासमा लाग्ने अठोटका साथ उम्मेदवारी घोषणा गरेको जानकारी दिएका छन् ।
उनले भानुचोकमै पाँच प्रतिबद्धता समेत सार्वजनिक गरे । फाष्ट ट्रयाकमा निसर्त स्थायी लालपुर्जासहित सुकुम्बासीमुक्त राष्ट्र घोषणा र समुदायमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै राज्यबाट निब्र्याजी आवास ऋण सहायता प्रदान गरी हरेक झुप्रा घर रंगीन बनाउने र खानेपानीको दीर्घकालीन स्रोत खोजी निःशुल्क खानेपानी र विद्युतको नीति अघि सार्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यस्तै, भिभिआइपी, भिआइपीको सेवा सुविधा खारेज गरी सरकारी स्रोत साधनको दुरुपयोग रोकी उद्योग स्थापना र एक घर एक रोजगारको प्रबन्ध गर्दै हरेक ६० वर्ष पुगेका असहाय र फरक क्षमता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार र आजीवन पालनपोषण गर्ने नीति ल्याइने उनले जनाएका छन् ।
पर्यटनको हब बनाउन धरान–भेडेटार, विष्णुपादका–बराहक्षेत्र केवलकार निर्माण, आदिवासी संग्रहालयको थप स्तरोन्न्ति गर्ने र बराहक्षेत्र धरानको बृहत विकास योजना अघि सारी चतरा, बराहक्षेत्र, नडाहा, कालाबञ्जार क्षेत्रमा रिङरोडको निर्माण र कृषक उपयोगी कार्यक्रम ल्याउने प्रतिबद्धतामा जनाइएको छ ।
प्रतिबद्धतामा सर्दु, सेउतीलगायतका खोलामा बस्तीको क्षति नहुने गरी दीर्घकालीन तटबन्धसहितको रिङरोडको कार्यक्रम ल्याई पर्वको नीतिबाट भौतिक पूर्वाधारको विकास गर्ने र बीच बजारबाट आउने भनेको ६ लेनको बाटो ओभर फ्लाइ वा अन्डर ग्राउण्डबाट बजारको क्षति नगरी निर्माण गर्ने जनाइएको छ ।
उच्च शिक्षा निःशुल्क गर्ने, धार्मिक सहिष्णुतासहितको देश निर्माण सहुलियत पसलको माध्यमबाट दैनिक उपभोग्य सामग्रीमा ५० प्रतिशत छुटमा वितरण गर्ने र खेलकुद, सांस्कृतिक, कला र कलाकारको संरक्षण योजना ल्याउने समेत प्रतिबद्धता जनाइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल बसोबास वस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कार्कीले धरानको समग्र विकासका लागि आफूले केन्द्रसँग जोड्ने बताए । उनले यसअघि सुकुम्बासीकै भोटका कारण नेताहरुले जित्दै आएको तर धरानको विकास भने केही नभएको बताए । उनले अहिलेसम्म बनेका सांसदहरुले धरानको विकासको लागि केही गर्न नसकेको ठोकुवा पनि गरे ।
‘म आग्रह गर्न चाहन्छु, देवीदेवता साँची राखेर भन्न चाहन्छु, यो पाँच वर्षभित्र धरानलाई केन्द्रसँग जोड्न चाहन्छु, केन्द्रसँग जोडेर धरानको बृहत्तर विकास गर्न चाहन्छु, किनभने यो धरानले राष्ट्रिय नेता जन्माउन सकेन,’ उनले थपे, ‘कहिले माओवादी, कहिले कांग्रेस, कहिले एमालेले जितेको छ, उनीहरुले आफ्नै पार्टीको मात्रै कुरा गरे धरानको कुरा गरेनन्, साँच्चै भन्ने हो भने धरानको सांसदले जित्न सकेन, त्यसैले म सबै पार्टीहरुको साझा सांसद बन्न चाहन्छु । अब पार्टीलाई भोट होइन हामीलाई भोट दिनुहोस्, हामी बनाउँछौं धरान ।’
उनले नेताहरुको विवेक नपुगेकोले धरानको विकास नगरेको उनको ठम्याइ छ । ‘त्यसकारण तपाईहरु यसपटक विश्राम लिनुहोस्, म बनाउँछु धरान ।’ उनले भने ।
यसअघि पनि उनी सयौं सुकुम्बासीहरुका बीच भानुचोकमा विभिन्न माग राखी धर्नामा बस्दै आएका थिए । कार्यक्रममा धरानमा मात्रै १३ हजार ७९० सुकुम्बासी मात्रै रहेको जनाइयो ।

प्रकाशित मिति: भाद्र ३० २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend