Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयर साम्पाङको टिमबाट उम्मेदवारी घोषणा

हाम्रो कोशी आवाज
असोज २ २०७९, आइतबार
धरानमा मेयर साम्पाङको टिमबाट उम्मेदवारी घोषणा

धरानः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको टिमबाट उम्मेदवारी घोषणा भएको छ ।
सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी घोषणा भएको हो । धरान–१६ स्थित गणेशमान चोकमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा का लागि सुनसरी क्षेत्र नं. १ बाट तर्कबहादुर मगर, प्रदेशसभा क बाट समिर तामाङ र प्रदेशसभा ख बाट हेमचन्द्र राईको उम्मेदवारी घोषणा भएको हो ।
उम्मेदवारी घोषणा कार्यक्रमस्थलमा तीनैजनाले माटो उठाएर उम्मेदवारी घोषणा गरेका थिए । माटो उठाइसकेपछि सांसदका उम्मेदवार तर्कबहादुरले घोषणा गरेका थिए– यो देशको माटो र जनताको सपथ खाएर तीनैजनाको तर्फबाट भन्दछु–म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ ।
उनीहरुले संयुक्त घोषणापत्र पनि ल्याएका छन् । आफूहरुले गर्न सक्नेमात्रै घोषणापत्र ल्याइएको प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका मगरले जानकारी दिए । ‘हामीले विशेषतः आफूहरुले गर्न सक्ने, जनता नझुक्याउने, विश्वास गर्न सक्ने घोषणापत्र ल्याएका छौं’, उनले भने ।
संयुक्त घोषणापत्रमा मेयर साम्पाङलाई सफल बनाउन र उनले गरेका विकासका गतिविधिमा विज्ञको सल्लाह सुझाव लिई नागरिकको हकहितको लागि नतिजामुखी कार्य गर्ने जनाइएको छ भने धरानलगायत सुनसरी क्षेत्र नं. १ को स्थानीय निकायहरुमा खनेपानी र सिंचाइको समस्या समाधानको लागि दीर्घकालीन व्यवस्थापन गर्ने जनाइएको छ ।
यस्तै, स्थानीयस्तरमा उत्पादित कृषि उपजको आधुनिकीकरण गर्दै आयत प्रतिस्थापन तथा आत्मनिर्भर, कृषिको लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने, गरिब तथा भूमिहीन सुकुम्बासीहरुको रोजगार तथा सामाजिक सुरक्षा तथा भूमि व्यवस्थापन गरी जीवनस्तर उकास्ने, पूर्वाधार विकासको निर्माण कार्यमा जनश्रमदान र जनतालाई विकाससँग जोड्ने अवधारणालाई लागू गर्न शैक्षिक पाठ्यक्रममा समावेशको लागि आवश्यक नीति बनाउने घोषणापत्रमा उल्लेख छ ।
विभिन्न जातजातिका सांस्कृतिक नाच तथा झाँकीहरुलाई विश्व सम्पदा सूची (युनेस्को) मा सूचीकृत गर्ने र संरक्षण प्बन्ध गर्ने र सो सम्बन्धमा पर्यटन प्रवद्र्धन गर्ने, सुनसरी जिल्लाका सबै स्थानीय निकायहरु जोड्ने रिङरोड, सडकहरुमध्ये क्षेत्र नं. १ धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रका सडकहरुको स्तरोन्नति, विष्णुपादुका, बराहक्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न आवश्यक पदमार्ग र सडकहरुको स्तरोन्नति र निर्माण, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, सांसदहरु मन्त्री हुन नपाउने व्यवस्था, राष्ट्रियस्तरको गम्भीर मुद्दाहरुमा विज्ञ र नागरिकहरुसँग परामर्श गरी नागरिकको चाहना बमोजिम धारणा बनाएर सदनसम्म जनभावना पुरयाउने पनि घोषणापत्रमा राखिएको छ ।
प्रदेशसभाका क का उम्मेदवार तामाङले मेयर साम्पाङले यसअघि जे जे घोषणापत्रमा जारी गरेका थिए त्यो अक्षरस पालना गर्दै आएको र आफूहरुले ल्याएको घोषणापत्रअनुसारको काम अक्षरस नै पालना गर्ने बताए ।
प्रदेशसभा ख का उम्मेदवार राईले मङ्सिर ४ मा देश र जनताको लागि लागिपर्ने उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले सांसद विकास कोषको सीमित बजेट माथिको आदेशमा लागू हुने हुनाले आफूहरुले जिते जनतालाई सोधेर मात्रै बजेट निर्माण गर्ने बताए । ‘यहाँको विकासको लागि के आवश्यकता छ, यहाँ के समस्या छ, त्यसलाई मध्यनजर गरेर हामी बजेट बनाउँछौं र हाम्रो आवाजहरु सदनसम्म पुरयाउने प्रतिज्ञा गर्दछौं ।’
कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्त लिम्बूले धरानबासीले काम र श्रमदानमा विश्वास गर्ने उम्मेदवारलाई जिताउनुपर्ने बताए । समाजका उपाध्यक्ष दिनेश राईले धरानबासीले यसपटक पनि उम्मेदवार चिन्नुपर्ने बताए । उनले धरानले श्रम गर्दै विकासको मूल फुटाउने थप नेतृत्व चाहिरहेको बताए ।
सचेत धराने समूहका प्रवक्ता राम लिम्बूले उम्मेदवारहरुलाई शुभकामना दिँदै दलका कारण जनताले हार खाइसकेको हुनाले स्वतन्त्रलाई जिताउन आग्रह गरे ।

प्रकाशित मिति: असोज २ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend