Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१० वडाध्यक्षले सरसफाइकर्मीलाई लगाए झापड !

हाम्रो कोशी आवाज
असोज ३ २०७९, सोमबार
धरान-१० वडाध्यक्षले सरसफाइकर्मीलाई लगाए झापड !

धरानः धरानमा एक वडाध्यक्षले धरान उपमहानगरपालिकामा कार्यरत् एक सरसफाइकर्मी माथि झापड हानेका छन् ।
सोमबार संविधान दिवस थियो । धरानका अधिकांश जनप्रतिनिधिहरु संविधान दिवस मनाउन तम्पतयार थिए । तर बिहान फोहोर उठाउन पुगेका सरसफाइकर्मी भने कुटिएका छन् ।
धरान–१० का वडाध्यक्ष विवेक राईले धरान–१० स्थित पुतली लाइन (भाटभटेनी छेऊ) मा फोहोर उठाउन पुग्दा समयमा फोहोर नउठाएको भन्दै राजेश थापा मगर मगर (सवारी चालक) लाई एक झापड हानेको उनले जानकारी दिए । सोमबार बिहान उनी कुटिएका हुन् । घिसार्दै केही पर लगेर पछाडिपट्टि टाउकोमा एक झापड हिर्काएको पीडित थापा मगरले जानकारी दिए । त्यहाँ मङ्गलबार अर्थात् भोलि फोहोर उठाउने पालो रहेको उनले जानकारी दिए । अभद्र व्यवहार र अपशब्द बोल्दै उनले फिल्मी शैलीमा कुटपिट गरेको उनले जानकारी दिए । ‘यो सवारीमा फोहोर भरिइसकेको छ, यो खाली गरेर फेरि ल्याएर आएर उठाउँछौं भनेको थिएँ तर उनले पछाडिपट्टि टाउकोमा हिर्काए’, पीडित थापा मगरले भने ।
वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखाका वातावरण अधिकृत भेषराज घिमिरेले सरसफाइकर्मी मगरमाथि माथि हातपात भएको जानकारी दिए । ‘खासमा धरान–१० मा फोहोर उठाउने रुट भोलिको रहेछ, सरसफाइकर्मीले हुन्छ भरेसम्ममा उठाउँछौं भन्दाभन्दै घिसार्दै लगेर हातपात गरेको पाइएको छ’, उनले भने । ड्युटीमा रहेका कर्मचारीमाथि हातपात हुनु दुःखद् भएको उनले जानकारी दिए । ड्रेनमा रहेको फोहोर झिकेकोबारेमा उपमहानगरपालिकालाई केही जानकारी नआएको तर वडाध्यक्ष राईले कर्मचारीमाथि हातपात गरेको उनले जानकारी दिए ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष किशोर अधिकारीले कर्मचारीहरु जहिल्यै रुटअनुसार काम गर्दै आएको र कुटपिट हुनु गम्भीर आपत्तिको विषय भएको बताए । उनले उपमहानगरपालिकाभित्र रहेका करिब ५ सय बढी कर्मचारीलाई नै झापड हानेको महसुस समेत भइरहेको बताए । ‘सरसफाइको कुरा गर्ने हो भने ‘रुट फिक्स’ गरेको हुन्छ, रुटअनुसार नै काम गरेको समयमा उनीमाथि हातपात हुनु आपत्तिको विषय हो, यसले सबै कर्मचारी असुरक्षित भएको हामीले महसुस गरेका छौं ।’ उता कर्मचारीले भने वडाध्यक्षले माफी नमागेसम्म फोहोर नउठाउने समेत जनाएका छन् ।
मेयर हर्कराज राई साम्पाङले पीडित चालक साथै अन्य कर्मचारीलाई पनि सोधपुछ गर्दा कुटपिट भएको पक्कापक्की भएको बताए । उनले कर्मचारीहरु आफूलाई गुनासो पोख्दै आफ्नो कार्यालय आइपुगेको र यसबारेमा लिखित निवेदन पनि दिएको बताए । उनले संविधान दिवसकै दिन कर्मचारी कुटिनु दुःखद् भएको बताए ।
उता वडाध्यक्ष राईले भने आफूले सवारी चालकलाई फोहोर उठाउन भनेको तर अटेर गरेजस्तो गरेपछि केही हप्काएको बताए ।

प्रकाशित मिति: असोज ३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend