धरानः युनिक धरान स्नुकर च्याम्पियनको उपाधि धरान–२ स्थित चिमल स्नुकरका बालकुमार लिम्बूले जितेका छन् ।
उनले वेस्ट स्नुकर हाउस धरान–१९ का गणेश गुरुङलाई पराजित गर्दैै उपाधि जितेका हुन् । वेस्ट अफ इलेभेन खेलाइएको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक भएको थियो । दुवैले बराबर ५–५ खेल जितेपछि अन्तिम वेस्ट अफ इलेभेन खेलमा गुरुङलाई पराजित गर्दै लिम्बू विजयी भएका हुन् ।
बिजेता लिम्बूले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद २० हजार, ट्रफी र मेडल हात पारे । व्यक्तिगत उपाधितर्फ धरान–१२ का दोर्जे पाख्रिन हाइवेस्ट ब्रेकर घोषित भए । उनले ३८ अङक जोडेर हाइयस्ट बे्रकर उपाधि जित्न सफल भएका हुन् । उनले उपाधिसँगै नगद १० हजार र ट्रफी प्राप्त गरे । बिजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान–५ का पूर्व वडाध्यक्ष सन्तोष लिम्बू र कार्यक्रमका सभाध्यक्ष तथा आयोजक युनिक पुल हाउस तथा खाजा घरका सञ्चालक चन्द्र लिम्बूले पुरस्कार वितरण गरेका थिए ।
धरान–५ देउरालीस्थित युनिक पुल हाउस तथा खाजा घरको आयोजनामा भदौ २३ गतेदेखि प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा धरानभरिका ५२ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।