Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दशैं मनाउन गाउँ फिर्नेको लर्को

हाम्रो कोशी आवाज
असोज १७ २०७९, सोमबार
धरानमा दशैं मनाउन गाउँ फिर्नेको लर्को

धरानः धरानमा दशैं मनाउन घर फिर्नेको लर्को देखिएको छ । बिहान ३ बजेदेखि नै भानुचोकस्थित बसपार्कमा पहाडी जिल्ला (धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, इलामलगायत) मा दशैं मनाउन हिँडेकाहरुको लर्को देखिएको छ ।
धरानमा पहाडी क्षेत्रमा चढ्ने यात्रु र धरानबाट बाहिरिनेको संख्या बढेको छ । गृहक्षेत्र तथा पुख्र्यौली घर फिर्नेको लर्को लागेको छ । विशेषतः दशैं लागेदेखि नै भीडभाड शुरु भएपनि फूलपातीको अघिल्लो दिन, फूलपाती साथै नवमीसम्म नै धरानमा भीडभाड हुने गरेको यातायात व्यवसायी बताउँछन् । फूलपाती दिन र भोलिपल्ट भानुचोकमा थामिनसक्नु भीड बढेको छ ।
काठमाडौं, पोखरा, पूर्वका विभिन्न सहरमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी, विदेशबाट घर फिर्नेले चाप बढेको पहाडी काउन्टरका सानबहादुर तामाङ बताउँछन् । ‘हप्तादिन अघिसम्म बस खाली खाली नै जाने गरेको थियो तर केहीदिन चाप बढेको छ, बिहान चार बजेदेखि कुनैपनि बस खाली गएकै छैनन् ।’ उनले भने ।
‘पोहोरभन्दा यसपटक जनतामा चाडपर्व मनाउने उत्साह छाएको छ’, व्यवसायी तामाङले भने ‘चाडबाडको बेला गाडीमा चाप स्वभाविकरुपमा हुन्छ तर पनि गाडीहरु थपेर भएपछि यात्रुलाई सहज हुने तरिकाले कुदाइरहेका छौं ।’ साउदीदेखि छुट्टी लिएर दशैं मनाउन गाउँ फर्केका मिलन विश्वकर्माले दशैं गाउँमै रमाइलो हुने हुनाले घर फर्किएको बताए ।
यात्रुहरुले पहिलो कुरा त गाडी सहजरुपमा नपाएको गुनासो गरेका छन् । भोजपुरकी शोभा पौडेलले सवारी साधन नपाएरै दुईघण्टा बढी भानुचोकमा बिताएको बताए । ‘खासमा गाडी सबै प्याक छ भन्छन्, दुईघण्टाअघिदेखि गाडी कुर्दाकुर्दा हैरान भइसक्यौं ।’ उनले भने ।
यात्रुहरुले गाडीभाडा महङ्गो भएको बताएका छन् । यसअघि संखुवासभाको चैनपुर पुग्दा १२ सय तिरेका यात्रुले यसपटक १५ सयभन्दा नछोडेको दुखेसो गरेका छन् । उता यातायात व्यवसायीले भने चाडबाडमा वर्षौदेखि भाडा बढ्ने गरेको बताउँछन् । ‘यात्रु पुरयाएर फर्किँदा रित्तै फर्किनुपर्ने हुन्छ’, एक व्यवसायी भन्छन्, ‘साथै तेलको मूल्य पनि बढेको छ, त्यही भएर पनि भाडा पनि बढेको हो ।’

प्रकाशित मिति: असोज १७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend