Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ लाई पानी खुवाउन लागे

हाम्रो कोशी आवाज
असोज २९ २०७९, शनिबार
धरान-१५ लाई पानी खुवाउन लागे

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको पानी अभियान अहिले पनि जारी छ । पकुवा, सर्दु, खदु र निशानेको पानी सङ्कलन गरेर खानेपानी ट्याङ्कीमा झारिसकेका मेयर साम्पाङको अभियान अहिले भालु खोला र सेउती खोलातर्फ सोझिएको छ ।
शुक्रबारदेखि त्यहाँबाट पानी ल्याउनका लागि काम थालिएको थियो । विशेषतः धरान–१५ का बासिन्दालाई पानी खुवाउन भन्दै उनी शिवजट्टाको पानी ल्याउने भन्दै लागिपरेका थिए तर स्थानीयबासीले त्यहाँबाट पानी ल्याउने गरेको थाहा पाएपछि मेयर साम्पाङ स्थानीयले ल्याएको भन्दा केही तलको स्थान भालुखोला र सेउती खोलाबाट पानी ल्याउन लागेका हुन् ।
शनिबार मेयर साम्पाङको आह्वानमा सयौं श्रमदाता उपस्थित थिए । श्रमदाताले ढुंगा बोक्ने, पाइप तान्ने साथै इन्टेक निर्माण गर्ने स्थलमा वाल उठाउने काम गरे । मेयर साम्पाङको अभियानलाई सघाउन उर्लाबारी, धरान–१५ का स्थानीयदेखि लाहुरेसमेत सहयोग लिएर पुगेका थिए । शनिबार धरानबासीले ८१ हजार रुपैयाँ सहयोग गरेको विभिन्न प्रोजेक्ट सम्हाल्दै आएको दत्तकुमार लिम्बूले जानकारी दिए ।
भालु खोलाबाट साढे ५ इन्चको पाइप जडान हुने भएको भएको छ भने सेउती खोलामा तीन इन्चको दुईवटा र साढे ५ इन्चको एउटा पाइपबाट पानी ल्याउने गरी काम भइरहेको छ । यी सबै पाइपमा ल्याइएको पानी एकैठाउँ जम्मा गरी इन्टेकमा झारेपछि ८ इन्चको पाइपमा धरान–१५ मा पानी आउने मेयर साम्पाङले जानकारी दिए ।
मेयर साम्पाङले निशाने दोभानबाट सर्दु, खदु र निशानेको पानी ल्याउँदा धेरै राहत मिलेको हुनाले आफूले वर्षायाममै भएपनि यहाँबाट पानी ल्याउन लागेको बताए । उनले त्यहाँबाट ल्याइएको पानीले अहिले धरानबासी र उपमहानगरपालिकालाई पनि राहत मिलेको बताए । धरानको स्वस्तिका चौकको खानेपानी ट्याङकीमा निशाने दोभानबाट पानी ल्याएपछि खानेपानी बोर्डले तिर्नुपर्ने १० लाख रुपैयाँ बिजुलीको बिल घटेर आएको उनले जानकारी दिए ।
धरानको चारकोशे जङगलमा भूमिगत पानी ल्याउँदा बिजुलीबाट पम्प चलाएर पानी तान्नुपर्ने र वितरण हुने गरेको र निशाने दोभानबाट १० इन्चको पाइपमा पानी ल्याएपछि ३४ लाख बिल आउने ठाउँमा मासिक २४ लाख रुपैयाँ मात्रै बिजुलीको बिल आएको उनले बताए ।
खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले पानीको बिल घटेको देखेर आफू समेत चकित बनेको बताए । ‘अब सेउती र भालु खोलाबाट पानी ल्याउँदा झनै रकम घट्छ’, उनले थपे, ‘किनभने धरान–१५ मा पानी ल्याउन पम्प चलाउँदा धेरै बिल उठ्ने गरेको थियो । उनले दीर्घकालिन नभई ६ महिनासम्म भएपनि पानी आए धरानेलाई धेरै राहत हुने बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज २९ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend