धरानः धरानमा एक युवा खहरे खोलामा मृत भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार धरान–८ तीनढ्वाङ्गे खहरेमा दीपेश खातुन मृत भेटिएका हुन् । उनको शव खहरेमा घाप्टो परेको अवस्थामा फेला परेको उनले जानकारी दिए । बिहान स्थानीयले प्रहरीलाई खबर गरेको र आफूहरु स्थलगतरुपमा जाँदा मृत फेला परेको पाइएको उनले जानकारी दिए ।
अरुण टोलस्थित खहरेमा रहेको सानिआमाको घरमा बस्दै आएका उनी बिहान मृत भेटिएका हुन् । आमाको मृत्यु भएको र बुबाले पनि कान्छी ल्याएको पाइएको र ती युवा सानिआमाकोमा बस्दै आएको उनले जानकारी दिए । दीपेश यसअघि लागूऔषध सेवन गर्दै झैझगडा समेत गर्ने गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ ।
‘स्थानीयसँग बुझ्दा दीपेश पहिला लागूऔषध सेवनकर्ता रहेको पाइयो’, डिएसपी श्रेष्ठले भने, ‘हिजो राति करिब ११ बजेतिर उनले लागूऔषध सेवन गरेर लरखरिँदै आएको पाइयो, नशाको सुरमा आएका उनी त्यहाँ खसेको हुनसक्छन् ।’
शनिबार राति करिब १२ बजेतिर सो घटना भएको हुनसक्ने र सो बारेमा प्रहरीले साथी र स्थानीयसँग सोधपुछ थालेको छ । शवको मुचुल्का उठाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि लगिएको उनले जानकारी दिए । उनले पोष्टमार्टम रिपोर्टले थप कुरा बताउने र अनुसन्धानमा सहज हुने बताए ।