धरानः धरान-२० पकुवाबाट धरान-११ स्थित पानी ट्याङ्की र सर्दु, खर्दु र निशानेबाट धरान–१६ स्थित स्वस्तिकचोकमा पानी आइपुग्दा मेयर साम्पाङ र श्रमदानमा पुगेका धरानबासी जति खुशी थिए, आइतबार पनि त्यति नै खुशी देखिए ।
धरानको भालुखोला र शिवजट्टाबाट झरेको सेउती खोलाबाट पानी ल्याइएपछि रौनक नै छायो । जसरी पकुवा, सर्दु, खर्दु र निशानेको पानी जनश्रमदानबाट ल्याइएको थियो, त्यहाँको पानी पनि जनश्रमदानबाटै धरान–१५ स्थित काठे पुलनजिक खत्रीधारा छेऊमा आइपुगेको हो । दिनभरी मेयर साम्पाङ र धरानबासीले पाइप तान्दै अथक प्रयासपछि पानी त्यहाँ आइपुगेको हो ।
१० इन्चको पाइपमा पानी झरेपछि स्थानीयले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगै खुशी साटासाट गरे । भालु खोलाबाट साढे ५ इन्चको पाइप, सेउती खोलाबाट तीन इन्चको दुईवटा र साढे ५ इन्चको पाइपबाट भालुखोलामा बनाइएको इन्टेकमा खसाएर ८ इन्चको पाइपमा धरान–१५ नजिक पानी आइपुगेको हो । पानी ल्याउन धरानलगायत अन्य जिल्लाबाट आएका हजारौंले श्रमदान गरेका छन् । जनताको मिहिनेत, परिश्रमका साथ श्रमदानबाट पानी आउनु ठूलो कुरा भएको खोलाको डाइरेक्टर दत्तकुमार लिम्बूले जानकारी दिए । उनले त्यहाँ केहीबेर नाचेका पनि थिए ।
पत्रकारमाझ बोल्दै मेयर साम्पाङले दाताले नै खत्रीधारा आसपासमा ट्याङ्की निर्माण गरिदिने बचन दिएको र ट्याङ्की निर्माण गरेर फिल्टर गरी धरान–१५ मा पानी वितरण गर्न थालिने जानकारी दिए । उनका अनुसार धरान–७, ८ र १९ मा पनि सो पानी वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए ।
धरानबासी, देशविदेशदेखि निरन्तर साथ र सहयोगले धरान–१५ मा पानी आइपुगेको मेयर साम्पाङले जानकारी दिए । मेयर साम्पाङले निशाने दोभानबाट सर्दु, खदु र निशानेको पानी ल्याउँदा धेरै राहत मिलेको हुनाले आफूले वर्षायाममै भएपनि त्यहाँबाट पानी ल्याइएको बताए । उनले त्यहाँबाट ल्याइएको पानीले अहिले धरान–१५ बासी र उपमहानगरपालिकालाई पनि राहत मिल्ने बताए ।
धरानको चारकोशे जङगलमा भूमिगत पानी ल्याउँदा बिजुलीबाट पम्प चलाएर पानी तान्नुपर्ने हुँदा लाखौंको बिल आउने गरेको बताए । उनले सो रकम बचाउन पनि आफू लागिपरेको बताए । ‘वर्षायाममा आउने पानी त्यतिकै बगेर गइरहेको छ, त्यो पानीलाई सदुपयोग गर्दा पानीको अभाव पुर्ति त हुने नै भयो, त्यसको साथै सागसब्जी, फलफूललाई पनि राहत मिल्छ, धरानका बगैंचाहरु अब हरियालीमा परिणत हुन्छ भन्ने आशा छ ।’
खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले पकुवा, सर्दु, खर्दु र निशानेको पानी ल्याउँदामात्रै पानीको बिल घटेर आएको बताए । ‘अब सेउती र भालु खोलाको पानीले झनै रकम घट्छ’, उनले थपे, ‘किनभने धरान–१५ मा पानी ल्याउन पम्प चलाउँदा धेरै बिल उठ्ने गरेको थियो ।’
अहिले मेयर साम्पाङ धरानबासीलाई जसरी पनि पानी खुवाउँछु भन्दै लागिपरेका छन् । पत्रकारमाझै अन्तर्वार्ता दिँदै मेयर साम्पाङले कोशीको पानी ल्याउनका लागि सम्बन्धित निकायमा डिपिआरका लागि हप्तामा एकपटक फोन हुने गरेको बताएका छन् । उनले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि कोशीको पानी ल्याइने बताउँदै आनाकानी भए काठमाडौंमा बस्ने धरानबासीलाई उठाएर सिंहदरबारमा फाइट पर्न र ढुङ्गा हान्न जाने समेत बताएका छन् । ‘मैले डिपिआरका लागि हप्तामा एकपटक फोन भइरहन्छ, कोशीको पानीको लागि आनाकानी भए सिंहदरबारमा गएर ढुङ्गै हानिन्छ, जेसुकै होस्’, उनले अन्तर्वार्तामा भने, ‘हर्क साम्पाङले बोलेपछि गरिपनि हाल्छ ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज











