धरानः चुनाव जितेलगत्तै मेयर हर्कराज राई (हर्क साम्पाङ) भानुचोकमा फोहोर टिप्दै गरेको भेटिएका थिए । मङ्गलबार बिहान आफ्नो निवास (घर छेऊ) बुद्धचोकदेखि फोहोर टिप्दै धनकुटे रोड हुँदै भोटेपुलसम्म फोहोर टिप्न व्यस्त भए ।
धरानबासीको साथ लिएर फोहोर टिप्न निस्किएका उनले भोटेपुलमा पुगेर भने- अब धरानमा कडाइ हुनेछ, प्रहरीलाई निर्देशन समेत दिन्छु, कसैले आफ्नो पसलअगाडि, घरअगाडि फोहोर गरेको पाइए चिट काटिहाल्नू । चिटचाहिँ हामीले पाँच सयदेखि १ लाखसम्मको काट्ने भनेर निर्णय समेत भएको छ र त्यो नगरी भएन पनि । उनले चिटवापत काटेर आएको जरिवानाको रकमले जुन वडा सफा हुन्छ, त्यो वडामा खर्चिने र पुरस्कार दिइने बताए ।
सरसफाइ गर्दै उनले बुद्धचोकदेखि भोटेपुलसम्म गुट्खा, खैनी, पानीका बोतललगायत अन्य फोहोरजन्य वस्तु समेत टिपे । उनले छेऊछाउका पसल वरपरका सर्वसाधारण, सडकमा हिँड्ने सर्वसाधारण, सार्वजनिक यातायात व्यवसाय, सार्वजनिक बसका कर्मचारीलाई जताततै फोहोर नफाल्न आग्रह गरे ।
उनले आजको दिन धरानलाई ‘क्लिन सिटी’ बनाऔं भन्ने सन्देश छर्न हिँडेको र अब धरान उपमहानगरपालिकामा नियम लागू गरिने र कोही कसैले फोहोर गरे वा सरसफाइमा ध्यान दिन अटेर गर्ने कारवाही गर्ने समेत बताए । उनले जसरी हुन्छ धरानलाई सफा र सुन्दर सहर बनाउने अभियान आफूले थाल्नुपर्छ भनेर लागिपरेको बताए । केही वर्षअघि धरान उपमहानगरपालिकाले सफा र सुन्दर सहरको पुरस्कार पाउने गरेको तर केही वर्षदेखि दुर्गन्धित हुँदै गएपछि आफूले सरसफाइ अभियानमा लागेको उनले बताए । उनले अबदेखि धरानमा पर्यटक छिर्दा आहा भन्ने खालको बनाउन आफू जहिल्यै लागिपर्ने पनि बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज