धरानः विराटनगर–धरान सडक खण्डअन्तर्गतको धरान–तरहरा सडक (तीनकुनेसम्म) को कालोपत्रे शुरु भएको छ ।
यसअघि यो सडकको काम सुस्त हुँदा सडकमा यात्रा गर्नेले सास्ती खेप्दै आएका थिए । सो सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटना बढ्दै गएको थियो । खाल्डाखुल्डी, हिलो र धुलोले गर्दा धरान–तरहराको सडक हिँड्नै नपरोस् भन्दै आवाज समेत उठ्ने गरेको थियो । अझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामी लिएर जाने–आउने एम्बुलेन्सलाई समेत ढिलाइ हुने गरेको थियो ।
इटहरीदेखि धरानसम्म जोड्ने १२ किलोमिटर सो सडकको कालोपत्रे गर्न थालिएको र मङ्सिरभित्रमा सक्नेगरी काम अघि बढेको जनाइएको छ ।
यसैबीच धरानका मेयर हर्कराज राई साम्पाङले बिहीबार सो सडकको अनुगमन गरेका छन् । टेम्पो चढेर त्यहाँ पुगेका उनले निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर गुणस्तरीय सडक बनाउन आग्रह गरेका थिए ।
अहिले विराटनगरको रानी–धरान ६ लेन सडक धरानको तीनकुनेसम्म आइपुगेको छ भने धरान शहरभित्र कुन तरिकाले सडक निर्माण गर्ने हो भन्नेबारेमा अन्यौलता कायमै छ । सेउती पुलदेखि तीनकुनेसम्म रौताहा कन्ट्रक्सनको ठेक्का पाएको छ ।



