धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानमा बोलेको बारे टिप्पणी गरेका छन् ।
अघिल्लो दिन ओलीलाई ‘हाउडे’को संज्ञा दिएका उनले शनिबार श्रमदानस्थलमा पुगेर थप टिप्पणी गरेका हुन् ।
ओलीले धरानमा कोशीको पानी ल्याएर सबैलाई पानीको व्यवस्था गरिदिने बताएपछि मेयर हर्कले सामाजिक संजालमार्फत ओलीलाई हाउडेको संज्ञा दिएका हुन् ।
‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ, म ल्याउँछु पानी कोशीको धेरै चुनौती नदिँदा हुन्छ हाउडेले’ उनले सामाजीक सञ्जालमा लेखेका छन् ।
शनिबार धरान–१६ सुकुम्बासी वस्तीमा तामाखामको पानी ल्याउने भनेर लागिपरेका मेयर साम्पाङले धराने जनताको जनादेशलाई नमानेको जस्तो आफूलाई लागेको बताएका छन् । पत्रकारहरुमाझ उनले भने, ‘मन पर्ने मन नपर्ने मान्छेहरु धेरै हुन्छन् तर उहाँको अभिव्यक्ति मेयर छान्न जानेनौं भन्नु त धराने जनताको जनादेशलाई नमानेको जस्तो भयो नि त, छानी त हाल्यो तर पनि यस्तो बोल्नु भएन, ठीकै छ ।’ उनले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा गरेको दाबी गरेका छन्। ‘मेयर छान्न जानेनौ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले’, उनले सामाजिक सञ्जालमा समेत लेखेका छन्।
ओलीले के भनेका थिए ?
उनले नेकपा एमालेको सरकार चाहिने र खानेपानीको समस्या समाधान हुने बताएका थिए । उनले भनेका थिए– नगरेको बजेटले केही हुँदैन, छान्ने बेलामा आँखा देख्नुभएन ।
‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ’, उनले भने, ‘पम्पिङ गरेर कोसीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मङ्सिर ४ पछि आयोजना सुरु गर्नेछौँ, काम सुरु गर्नेछौँ, स्थायी ढङ्गले, छेउमै कोसी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’