Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आचारसंहिता नै मान्दैनन्

हाम्रो कोशी आवाज
कार्तिक २६ २०७९, शनिबार
धरानमा आचारसंहिता नै मान्दैनन्

धरानः ‘ओहो तस्वीर नै खिच्नुभयो’, धरान–८ मा नेकपा एमालेको घरदैलो चलिरहँदा एक वडा सदस्य डराउँदै भन्दै थिइन्, ‘हैट, भिडियो नै पो खिच्नुभयो, नदेखाउनु ल आचारसंहिताले मान्दैन, वडा सदस्य नै चट हुन सक्छ ।’
धरानमा नेकपा एमालेका केही वडाध्यक्ष र वडा सदस्य लुकीलुकी भएपनि निर्वाचन आचारसंहिता विपरीत र उल्लंघन गर्दै उम्मेदवारसँगै घरदैलोमा निस्केका छन् । उनीहरु उम्मेदवारलाई चिनाउन हिँडेका हुन् ।
कार्यपालिकाकी सदस्य समेत रहेकी धरान–८ की सावित्री परियार दर्जी भोट माग्दै घरदैलोमा निस्किएकी हुन् । यस्तै, धरान–४ बाट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष मनप्रसाद लिम्बू पनि मनै लगाएरै भोट माग्न व्यस्त छन् । उनी भने नेकपा एमालेलाई नभई नेकपा एमालेबाट विद्रोह गरी बागी उम्मेदवार मनोजकुमार मेन्याङ्बोलाई भोट माग्न व्यस्त भएका हुन् । मेन्याङ्बो धरान–४ मा पुग्दा मनप्रसाद पनि भोट माग्न व्यस्त हुनुका साथै चुनावी कोणसभामा पनि संलग्न थिए । दुवै जना उम्मेदवारको पक्षमा भोट माग्दै घरदैलोमा सहभागी भइरहेका छन् ।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४ मा स्थानीय कार्यपलिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन नपाइने व्यवस्था छ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपलिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण भन्दै आचारसंहिताको परिच्छेद ३ मा पहिलो नम्बर मै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।
धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले स्थानीय जनप्रतिनिधिले कुनै उम्मेदवारलाई भोट माग्न नहुने आचारसंहितामा उल्लेख भएको बताए ।
धरानमा कार्यपालिकाको बैठक किन बस्न सकेन भनेर अहिले जताततै चर्चा र टिप्पणीहरु भइरहेका छन् । कतिपयले एमालेका वडाध्यक्षहरु नै भोट माग्न व्यस्त भएका छन् र कार्यपालिका बैठक स्थगित भएको सम्म भन्दै टिप्पणी गर्न शुरु गरेका छन् । वडाध्यक्षहरुले पनि चुनाव आइसक्यो चुनावपछि बैठक बस्नुपर्छ भनेर अडान कसेपछि पनि कार्यपालिका बैठक बस्न नसकेको समेत जनाइएको छ । स्रोतका अनुसार उनीहरु कार्यपालिका बैठक बस्नुअघिदेखि नै चुनाव प्रचारमा होमिएको थिए ।
हाम्रो कोशी आवाजले सम्पर्क गर्दा धरान–४ का वडाध्यक्ष मनप्रसादले चुनावी माहौल मनोजको निकै राम्रो रहेकोले त्यतातिर लागेको बताउँदै भने, ‘भित्री कुरा हो, एमालेले मनोजलाई नै जिताउनुपर्छ भनेर लागेको छ, विधि विधान, सिद्धान्तले नदिएपनि मत त माग्नुपरयो नि तर फेसबुकको तस्वीरले निकै अप्ठयारोचाहिँ मनोज जी ले नै पानुभएको छ, खुसुक्क काम गर्नुपर्छ है भनेको भएन ।’ उता कार्यपालिका सदस्य सावित्रासँग पटक पटक फोन सम्पर्क गर्दा उठाउन चाहिनन् ।

मनोजलाई मत माग्दै धरान–४ का वडाध्यक्ष मनप्रसाद । तस्वीरः मनोजको फेसबुक

अशोकलाई मत माग्दै कार्यपालिका सदस्य सावित्रा । तस्वीरः हाम्रो कोशी आवाज

https://youtu.be/KBC94mENB3A

प्रकाशित मिति: कार्तिक २६ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend