धरानः प्रदेश १ स्तरीय दुईदिने थ्री वाइ थ्री महिला बास्केटवल प्रतियोगिताको उपाधि धरान मेघा कलेजले चुमेको छ ।
धरान मेघा कलेजको टिम ए ले शनिबार भएको फाइनल खेलमा रेड डेभिल्स वि टिमलाई ११–२ अंकको फराकिलो अन्तरमा सहज जीत निकाल्दै उपाधि चुमेका हो । जीतसँगै धरान मेघा कलेजले नगद दुई हजार ५ सय, ट्रफि र मेडल प्राप्त गरेको छ । यसैगरी उपविजेता टिमले नगद १ हजार ५ सय, ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरको उपाधि धरान मेघा कलेजका डा. आशा राई घोषित भइन् । उनले ट्रफी र मेडल प्राप्त गरे ।
महिला खेलाडिहरुलाई प्रोत्साहन गर्नका लागि यु १८का पूर्व राष्ट्रिय खेलाडी रवि वास्फोरको संयोजनमा प्रतियोगिता आयोजना भएको हो । धरान–१७ होराइजन टोलस्थित श्री माध्यमिक विद्यालयको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान मेघा कलेज ए र वि टिम, युवा जागृति ए र वि टिम, रेड डेभिल्स ए र वि टिम, होलिल्याण्ड स्कुल, टिम बिर्तामोड, तिम होस्ट बिर्तामोड, सिसिटि हात्तिसार र मिराकल बास्केटबल टिमले सहभागिता जनाएको थियो ।